अन्तर्राष्ट्रियस्तरको अनुभव बटुल्दै सावित्रा, सर्वाधिक गोलकर्ता बन्‍ने लक्ष्य

काठमाडौं । भारतीय महिला लिगमा शानदार प्रदर्शन गरिरहेकी स्टाइकर सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकरको होडमा रहेको बताएकी छन् । बाह्रखरीसँग कुरा गर्दै साबित्राले भारतीय स्टार खेलाडीलाई पछि पार्दै उत्कृष्ट स्टाइकर र सर्वाधिक गोलकर्ता बन्ने लक्ष्यमा कडा मेहनत गरिरहेको बताएकी हुन्।

डेब्यू खेलमा नै शानदार प्रदर्शन गरेकी सावित्रा तामिलनाडुको क्लब सेतुमा आबद्ध छन् । लिग चरणका दुई खेल सकिँदा उनले पाँच गोल गरेकी छन् । सेतुले मणिपुर पुलिस स्पोर्टस क्लबविरुद्ध ६-४ को जित निकाल्दा सावित्राले ४ गोल गरेकी थिइन।

यतिमात्र नभई सावित्राले महिला लिगमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको रेकर्ड समेत बनाइन् । उनले मणिपुर पुलिसविरुद्ध २९ औं सेकेण्डमा गोल गरेकी थिइन् । दोस्रो खेलमा बेङलोर युनाइटेडबिरुद्ध ३–० को जित निकाल्दा सावित्रासँगै नेपालकी अनिता बस्नेतले १ गोल गरिन् ।

पाँच गोलसहित सावित्रा लिगका दुइखेल सकिँदा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । मणिपुर पुलिस स्पोर्टसकी बालादेबी ९ गोलसहित शीर्ष स्थानमा छन् । सावित्राको लक्ष्य टोलीलाई च्याम्पिम्यनसहित उत्कृष्ट स्टाइकर र सर्वाधिक गोलकर्ता बन्ने हो ।