अर्थमन्त्रीले बजेट पढेको कति पैसा पाउँछन् ?

काठमाडौं– अर्थमन्त्रीले बजेट पढ्दा लाखौ रकम लिने गरेको हल्ला पहिलेदेखि नै चल्ने गरेको छ । तर वास्तविकता के हो भनेर रातोपाटीले बुझ्न खोजेको छ । लाखौ रुपैयाँ लिने हल्लाका बीच पूर्व अर्थमन्त्रीसँग कुरा गर्यौँ तर उहाँहरुले हल्लामा कुनै सत्यता नभएको जानकारी गराए ।

तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् । उनले भने, ‘अर्थमन्त्रीले पसिना बगाउने हो, रातभर नसुती—नसुती बजेट बनाउने हो , पसिना र सास्ती बाहेक केही पाउँदैनन् ।’

यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म बजेट पढ्दा पैसा पाएको मलाई थाहा छैन, बजेटमा अर्थमन्त्रीको मात्र होइन विभिन्न कर्मचारी, मन्त्रालयको सहयोग रहन्छ, अर्थमन्त्रीले बजेट पढ्नेमात्र हो । अर्थमन्त्रीले बजेट पढ्नु उसको कर्तव्य हो ।’

महत नेपालमा मात्र होइन अन्र्तराष्ट्रिय अभ्यासमा पनि कसैले बजेट पढेर पैसा पाएको नसुनेको बताउँछन् ।