आत्महत्या गर्न बाध्य पार्नेलाई प्रहरीले समात्यो

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले आफ्नै प्रेमीकालाई विष सेवन गरी आत्महत्या गर्न बाध्य पार्ने प्रेमीलाई पक्राउ गरेको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका-१ का २० वर्षीया राजेश विकलाई प्रहरीले आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरी मुद्धा चलाएको हो । अभियुक्त राजेश विकले नरहरीनाथ गाउँपालिका ३ की १८ वर्षीया राजु विकलाई विवाहको प्रलोभन देखाएर प्रेम गरेको तर विवाह गर्न नमानेको भन्दै यही असोज २१ गते विष सेवन गरी राजु विकको मृत्यु भएको थियो ।

सामाजिक संजाल फेसबुकमा मृतक राजु विकले आफूसँग प्रेम गरेका राजेश विकले विवाह गर्न नमानेका कारण आफूले आत्महत्या गर्ने निर्णयमा पुगेको भनी स्टाटस लेखेर विष सेवन गरेकाले उनका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसहित उजुरी दिएका थिए ।सोही आधारमा प्रहरीले अभियुक्त राजेश विकलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जिल्ला प्रहरी कार्यालयमा पहिलो पटक आत्महत्या दुरुसाहन मुद्धा दर्ता भएको जानकारी दिए ।

उनले पक्राउ परेका विकलाई आत्महत्या दुरुत्साहन अभियोगमा नयाँ मुलुकी संहिता अनुसार पाँच वर्षसम्म कैद र पचास हजार जरिवानाको माग दाबीसहित जिल्ला अदालत कालिकोटमा मुद्धा पेश गरिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ओलीयाले आर्थिक वर्ष २०७६∕०७७ को पहिलो तीन महिनामा प्रहरीले गरेका काम सार्वजनिक गर्दै गत साउन महिना यता २३ जना अभियुक्त पक्राउ गरेको जानकारी दिए ।

प्रत्येक घरमा प्रहरी

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाका सबै घरधुरीमा प्रहरी पुगेर घरदैलो अभियान संचालन गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी ओलीयाले जिल्लामा बालबिबाह, घरेलु हिंसा, कुटपीट, लागुऔषध दुव्र्यसनी लगायतका सामाजिक अपराध न्यूनिकरण गर्नका लागि प्रहरीले सचेतना जोगाउँदै घररदैलो अभियान संचालन गर्ने बताए।

उनले भने, ‘जिल्लामा रहेको सबै प्रहरी युनिटलाई परिचालन गरी विभिन्न किसिमका सामाजिक अपराधविरुद्ध सचेतना जोगाउँछौं। कानुनी व्यवस्थाका बारेमा पनि जानकारी दिन्छौं। गाउँमा हुने गतिविधिका बारेमा जानकारी लिनेछौं।’ जिल्ला प्रहरी कार्यालयको आर्थिक वर्ष २०७६∕०७७ को वार्षिक कार्ययोजना सार्वजानिक गर्दै डिएसपी ओलीयाले प्रहरी, नागरिक बीचको सम्बन्ध सुधार गर्न र प्रहरीका सेवाहरुलाई प्रभावकारी बनाउन हरेक गाउँपालिकामा नागरिक सुनुवाई गर्ने, घरेलु मदिराविरुद्ध कडा अभियान संचलन गर्ने, गुण्डागर्दी र सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा कडाई र फरार अपराधिको खोजि कार्यलाई उच्च प्राथमिक्ता दिने बताए ।

उनले भने, ‘असोज महिनामा मात्र जबरजस्ती करणी उद्योग मुद्धाका दुईजना फरार अपराधिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । अदालतबाट मुद्धा फैसला भएर फरार रहेका अपराधिको खोजिका लागि कडारुपमा प्रहरीले अप्रेसन सुरु गरेको छ ।उनले कर्णाली राजकार्गको सेरीघाटदेखि दहिखोला, मान्मदेखि बिहानीखोला र खल्लागाडदेखि नाम्म बजारसम्मको सडकलाई सवारी दुर्घटनाग्रस्त सडक (बल्याक स्पार्ट) का रुपमा लिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्नुका साथै कानुन कार्यन्वयनमा कुनै कसुर बाँकी नराख्ने बताए ।