आन्दाेलनरत उखु किसानलाई बजगाईंले दिए न्यानो ज्याकेट

काठमाडौं : चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि काठमाडौं आएका उखु किसान अहिले आन्दोलनरत छन्। दिनहुँ माइतीघर मण्डलामा उनीहरू आफूले पाउनुपर्ने पैसा दिनुपर्ने भन्दै धर्ना दिइरहेका छन्।

एकसरो लुगामा काठमाडौं छिरेका उखु किसान काठमाडौंको चिसोमा काँप्दै मन्त्री भेट्न, माइतीघरमा प्रदर्शन गरिरहेका छन्। तिनै उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट दिएका छन्।

‘सरकारले उनीहरूको माग सुन्ने छाँटकाँट देखाएको छैन,’ बजगाईंले भने, ‘काठमाडौंमा चिसो बढेको छ। त्यसैमाथि झरी परेको छ। उनीहरूलाई चिसोमा जोगिन ५० जनालाई एक/एक वटा डाउन ज्याकेट दिएको छु।’ बजगाईं उखु किसानको मागमा ऐक्यबद्धता जनाउन शुक्रबार माइतीघर पुगेका थिए।