कांग्रेस पुनः फुटको दिशातिर उन्मुख

काठमाडौं । नेपाल कांग्रेस पुनः फुटको दिशातिर उन्मुख भएको छ । २०७६ पुस १२ मा सभापति शेरबहादुर देउवा समूहले बहुमतको आडमा जब र्जस्ती चौधौं महाधिवेशनको मिति घोषणा गरेको छ । जुन बैठक निर्वाचित महामन्त्री डा. सशांक कोइरालासमेतले बहिस्कार गरेका थिए । नेपाली कांग्रेसका सभापति देउवाको कार्यकाल ४ बर्ष २०७६ मा पुग्दैछ । तर उनले विधान अनुसार १ बर्ष कार्यकाल बढाएर २०७७ फागुन ७ मा महाधिवेशनको मिति तय गरेका छन् ।

कार्यकाल बढाउन नहुने महामन्त्री कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहहरूको अडान छ । तर देउवाले केन्द्रीय समितिको बैठक राखी बहुमतले एक बर्षपछि महाधिवेशन घोषणा गरेका छन् । यसरी जबर्जस्ती देउवा गुटले महाधिवेशन एक बर्ष कार्यकाल बढाएर महाधिवेशन घोषणा गरेपछि पौडेल–सिटौला समूह चेपुवामा परेको छ ।

केन्द्रीय समिति बैठकमा सहमतिमै महाधिवेशनको मिति तय गर्नुपर्ने पक्षमा महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति विजय गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीले आग्रह गरेका थिए । तर, आफ्ना निकट नेताहरू खड्का, गच्छदार र कार्कीको आग्रहको समेत सुनुवाइ नगरी देउवा अतिवादीहरूको सल्लाहमा महाधिवेशन घोषणा गरेपछि कांग्रेस पार्टी फुटको दिशातिर उन्मुख भएको छ ।

देउवालाई बहुमतको आडमा पेलेर जानुपर्छ, महाधिवेशन घोषणा गर्नुपर्छ भनेर सल्लाह दिनेहरूमा उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महत र बालकृष्ण खाँड जस्ता नेताहरू रहेका छन् । निधि त पार्टीमा अल्पमतलाई पेलेरै जानुपर्छ भनी देउवा उकास्ने पहिलो पंक्तिमै पर्दछन् । निधि, महत र खाँडहरूको सल्लाह अनुसार अब देउवाले एक बर्ष कार्यकाल लम्ब्याई महाधिवेशन घोषणा गरेका छन् । तर तोकिएको मिति २०७७ मा पनि महाधिवेशन नगर्ने रणनीति देउवापक्षको छ ।