काेराेना भाइरस विश्वभर तीव्र रूपले फैलिरहेकाे डब्लुएचओको चेतावनी

एजेन्सी, ११ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै चेतावनी दिएका छन् ।

पछिल्लो समय यसको फैलावट दिनेपिच्छे व्यापक बन्दै गएको छ । अहिले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै उनले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । यसका लागि वेलैमा गम्भीर भएर कदम चाल्नुपर्ने डब्लुएचओको भनाइ छ । प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याएर यसको फैलावटको गति कम गर्न सकिने उसले बताएको छ ।

बीबीसीका अनुसार चीनको वुहानमा कोरोना भाइरसको पहिलो केस भेटिएको ६७ दिनपछि १ लाखमा मानिसमा यसको सङ्क्रमण फैलिएको थियो । विश्वभरि संक्रमितको संख्या दुई लाख पुग्न अर्को ११ दिन लाग्यो भने तीन लाख पुग्न जम्मा ४ दिन लाग्यो । याे भनेकाे पछिल्लाे ४ दिनमा मात्र एक लाख नयाँ संक्रमितहरू देखापरेका हुन् । यसबाट यसको फैलावटको गति सजिलै अनुमान गर्न सकिन्छ ।