कृष्णबहादुर महरा र ज्ञानेन्द्र शाहीको घटनाले दिएको सन्देश

अनिलभक्त खरेल,पछिल्लो साता नेपालमा दुई ठूला घटना भए : एउटा ज्ञानेन्द्र शाही पिटिनु र अर्को कृष्णबहादुर महराबाट महिलामाथि करणीको आरोप लाग्नु । दुबै घटना अपाच्य र निन्दनीय छन् ।

देशको ऐन नियम बनाउने निकायका प्रमुख व्यक्ति सभामुख कृष्णबहादुर महराले असोज १२ गते आइतबार साँझ रक्सीको नसामा बानेश्वरमा एक महिलामाथि जर्वजस्ती करणी गरेको भनेर ती महिला मिडिया सामु आइन् । महराले उनीमाथि कुटपिटसमेत गरेको भनेर उनले नीलडाम देखाउँदा पनि महरामाथि कानूनी कारवाही भएको छैन ।

यदि ती महिलाले देशको संवैधानिक निकायका व्यक्तिमाथि विनाप्रमाण झूठो आरोप लगाएकी हुन् भने उनीमाथि पनि किन कार्वाही भएको छैन ? महरा गलत हुन् कि महिला गलत हुन् चाँडै सत्यतथ्य जनसमक्ष आउनुपर्छ ।

भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानवहादुर शाही (ज्ञानेन्द्र शाही) माथि असोज ११ गते शनिबार सत्ताधारी दलका कार्यकर्ताले चितवनमा आक्रमण गरे । यस घटनाले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।

भिन्न विचार बोकेकै आधारमा, सत्ताधारी नेताहरुको गलत कामकार्वाही तथा भ्रष्टाचारको विरोध गरेकै कारण कोही पनि आम जनता दिनदहाडै सरकारबाट पालित पोषित गुण्डा, अरिंगालका जत्था एवं डमरुरुपी राता मण्डलेहरुबाट कुटिन्छन् भने जनताले परिवर्तनबाट के पाए त ? के फरक रह्यो त पञ्चायत र यो लुटतन्त्ररुपी लोकतन्त्र र गणतन्त्रमा ? के यसरी जनतामाथि दिनदहाडै भाला, खुकुरी तथा रड प्रहार गर्नु न्यायोचित थियो त ? के ती आपराधिक गिरोहलाई कार्वाहीको दायरामा ल्याउनु पर्दैनथ्यो ?

एउटा जिम्मेवार जिल्ला प्रहरी प्रमुखले अपराधीहरु भागे समाउन सकिएन भन्न सुहाउँथ्यो त ? के प्रहरी अपराधीहरु समाउन असफल भएकै हो त ? हैन भने सार्वजनिक भएका भिडियोको माध्यमबाट अपराधीहरुलाई समाउनबाट प्रहरीलाई केले रोक्यो ? यसमा प्रहरी प्रमुख सर्वेन्द्र खनालको ध्यान केन्दि्रत हुनुपर्छ । उनका पालामा नेपाल प्रहरी बदनाम नहोस् ।

पञ्चायतकालमा जसरी विद्यार्थी मण्डल (मण्डले) खडा गरेर पृथक विचारधारका व्यक्तिमाथि भौतिक आक्रमण गरेजस्तै अहिले वाईसीएल, युवा संघ नामको अरिंगाल जत्था खडा गरेर राता मण्डलेबाट भिन्न मत विरोधीहरुलाई निस्तेज गर्न प्रयास गरिँदैछ ।

तरबारभन्दा कलम बलियो भन्ने कुरा पढ्दै आएकाहरु यस्ता क्रियाकलापबाट रत्तिभर विचलित छैनन् र हुँदैनन् । राणा शासन त टिक्न नसकेको देशमा जनता कुटेर राज गर्छु भन्ने दिवास्वप्न नदेखे हुन्छ दुई तिहाई सरकारले ।

यस घटनाले बुढी मरी हैन कि काल पल्क्यो भनेर सबैले चिन्ता गर्नुपर्ने बेला भएको छ । हैनभने त्यसैको अर्को दिन डा. मिनेन्द्र रिजालमाथि तनहुँमा पनि त्यस्तै किसिमका हर्कत देखाउने प्रयास गरिएको थियो । तर, हुन पाएन ।

ज्ञानेन्द्र शाहीले बोलेका कुरा हावादारी हुन्, उनका भाषण उत्तेजक हुन्, गलत हुन्, उनले प्रस्तुत गरेका भ्रष्टाचारका डाटा गलत हुन् भने उनीमाथि राज्यले कानुनी कार्वाही गर्न सक्नुपर्थ्यो । त्यसो गर्न नसकेर आफ्ना अरिंगााल, बघिनी र डमरुका जत्था प्रयोग गर्नु सरकारको पराजित मानसिकता हो । यस्तो असहिष्णु, अनुदार र फासीवादी सरकार देशका लागि घातक छ ।

(भर्जिनिया, अमेरिकाबाट)

-यो सामग्री अनलाईन खबरले प्रकाशित गरेको थियो ।