ट्रम्पको आरोपपछि विश्व स्वास्थ्य संगठनको जवाफ- ‘भाइरसलाई लिएर राजनीति नगर्नुस्’

एजेन्सी, २७ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगातार दुईदिनसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) विरुद्ध आक्रोशमय अभिव्यक्ति दिएपछि संगठनका प्रमुखले भाइइसलाई राजनीतीकरण नगर्न चेतावनी दिएका छन् ।

बुधवार डब्लुएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरसविरुद्ध राजनीति गर्न छोडेर एकताबद्ध हुन आह्वान गरेका छन् । कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले धेरै पैसा दिने गरेको तर ऊ भने चीनकेन्द्रित आरोप लगाएा थिए । उनले राष्ट्रसङ्घीय निकाय डब्लूएचओलाई पैसा दिन रोक्ने धम्की समेत दिएका थिए । कोरोनामारी बारे आफूहरुलाई गलत जानकारी दिएको आरोप समेत ट्रम्पले लगाएका थिए ।

डब्लुएचओ प्रमुख टेड्रोसले भनेका छन्, ‘हामी सबै देशको नजिक छौँ र रङ्गको आधारमा कसैलाई विभेद गरेका छैनौँ ।’ डा टेड्रोसले ट्रम्पका ती भनाइहरू खारेज गर्दै जवाफ दिएका छन्, ‘सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो । र, कृपया अहिले कोभिड-१९ राजनीतिलाई क्वारन्टीनमा राखौँ।’

बिबिसीका अनुसार डब्ल्यूएचओका एक प्रमुख सल्लाहकारले यसअघि रोगको सुरुवाती चरण बुझ्न चीनसँग निकट रहेर कार्य गरेकाे र याे वास्तवमै आवश्यक थियाे भनी अभिव्यक्ति दिएका थिए ।