दोलखामा बन्यो ४० किलोमिटर पैदलमार्ग

दोलखा : जिल्लाको रोल्वालिङ हिमशृंखला क्षेत्रमा स्विस सरकारले ४० किलोमिटर पैदलमार्ग (फुट ट्रेल) निर्माण गरिदिएको छ। भूकम्पपछि क्षतिग्रस्त भएको बिगु गाउँपालिका–१, च्छोतच्छोतदेखि गौरीशंकर गाउँपालिका–९ को च्छो–रोल्पासम्मको रोल्वालिङ फुट ट्रेल स्विस सरकारले १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिदिएको हो।

नेपाल सरकार र स्विस सरकार विकास सहयोगको सहकार्यमा विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजना र भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत ०७३ साल वैशाखदेखि स्तरोन्नति गरिएको फुट ट्रेल सम्पन्न भएको नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले जानकारी दिइन्। समुद्री सतहबाट ४५८० मिटरको उचाइमा रहेको गौरीशंकर गाउँपालिका–९, गौरीशंकरको बेदिङ क्षेत्रमा अवस्थित दक्षिण एसियाकै ठूलो च्छो–रोल्पा हिमतालसम्म जाने फुट ट्रेल पुनर्निर्माण सम्पन्न भएको हो।

नेपालको प्रामाणिक समय निर्धारण गरिएको ७१३४ मिटर उचाइको गौरीशंकर हिमाल क्षेत्र आवतजावत गर्न रोल्वालिङ फुट ट्रेलको विकल्प थिएन। हिमआरोही जन्माउने गाउँ भनेर चिनिने बेदिङ गाउँ हुँदै च्छोरोल्पासम्म ३३ किमि र सोलुखुम्बु जाने ना–यलुङपास ७ किलोमिटर गरी ४० किलोमिटर रोल्वालिङ फुट ट्रेल निर्माण सम्पन्न गरेर स्विस सरकारले गौरीशंकर संरक्षण क्षेत्र आयोजनालाई हस्तान्तरणसमेत गरेको छ।

स्विस सरकारको करिब १० करोड लगानीमा करिब ४० किलोमिटर पर्यटकीय फुट ट्रेल पुनर्निर्माण तथा स्तरोन्नति गरिएको स्विस राजदूतावासको कार्यक्रम व्यवस्थापन विशेषज्ञ अमन जोन्छेले बताए। फुट ट्रेल पुनर्निर्माण गर्न स्थानीयले ५५ हजार श्रमदिन बराबर प्रत्यक्ष रोजगारी पाएको विशेषज्ञ जोन्छेले बताए।
फुट ट्रेलको विभिन्न ठाउँमा सोलिङ, खुट्किलो, रेलिङ, आवश्यक ठाउँमा सूचना पाटी, फुट ट्रेलमा पर्ने ५ ठाउँमा झोलुंगे पुल पुनर्निर्माण र स्थानीयलाई फुट ट्रेलसम्बन्धी विकास तालिमसमेत दिइएको राजदूत क्याप्लरले बताइन्। रोल्वालिङ फुट ट्रेलमा पर्ने सिमिगाउँ, क्याल्चे, डोङाङ, बेदिङ, ना क्षेत्रको होटल व्यवसाय थप फस्टाउने राजदूत क्यापलरले विश्वास व्यक्त गरिन्।

स्विस सरकारबाट निर्माण सम्पन्न गरी रोल्वालिङ फुट ट्रेलको थप व्यवस्थापनका लागि हस्तान्तरण गरिएको गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले जनाए। गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा पर्ने रोल्वालिङ हिमशृंखला क्षेत्रमा आन्तरिक तथा बाह्य गरी वार्षिक करिब ४ हजार ५ सय पर्यटक पुग्ने गरेको संरक्षण क्षेत्र प्रमुख शाहले बताए।