धनुषा बम विस्फाेटनका मुख्य योजनाकार ‘मोस्ट वान्टेड’ सूचीमा रहेका आदम पक्राउ

जनकपुरधाम, १८ पुष । प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जानेगरी भएकाे बम बिस्फोटका मुख्य योजनाकार मानिएका आदम राइन पक्राउ परेका छन् । घटनालगत्तै फरार भइसकेका र प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका राइनलाई धनुषा प्रहरीले घटना घटेको झन्डै २२ दिनपछि पक्राउ गर्न सफल भएको हाे ।

मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान गएकाे थियाे । साे विस्फोटन घटनाका अभियुक्तहरु पत्ता लागिसकेको र पक्राउ परेका राईन विप्लव समूहका केन्द्रीय सदस्य समेत रहेको प्रहरी स्राेतले जनाएकाे छ । राईनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी श्रोतले जनाएको छ । मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित संलग्न करिब ९ जनाको पहिचान भइसकेको प्रदेश- २ का प्रहरी प्रमुख डिआइजी प्रद्मकुमार कार्कीले बताउँदै आएका छन् ।

राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि धनुषा प्रहरी स्राेतले न्यूज २४ लाई आदमलाई पक्राउ गर्न सफल भएको दावा गरेकाे छ। प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पौष १६ गते नै राति पक्राउ गरेको बुझिएको छ । धनुषा प्रहरीले एक-दुइ दिनभित्रै पत्रकार सम्मेलनको आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरिररहेकाे बुझिन आएकाे छ ।