नेकपाले टुंग्यायो पोलिटब्यूरो र जनवर्गीय संगठनका सदस्यको नाम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्यूरो सदस्यको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले १ सय ४७ सदस्यीय पोलिटब्यूरो सदस्यको टुंगो लगाएको स्रोतले जनाएको छ । पोलिटब्यूरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ ।

बैठकले सबै जनवर्गीय संगठनको एकतासमेत टुंग्याइएको छ । गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुंगो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी संगठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको बिहीबार नै टुंगो लगाएको बताइएको छ । विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार संगठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि बिहीबार सचिवालय बैठक बसेको थियो । पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान
८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । – रासस