नेपाल राष्ट्र बैंकको परीक्षामा सोधिने सम्भावित प्रश्नहरु

नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ । बैंकिङ करिअर बनाउने सोच भएकाहरुका लागि यो एकदमै राम्रो अपरचुनिटी हो । तर, यसका लागि मिहिनेत गर्नुपर्छ । राष्ट्र बैंकको पदपूर्तिको परीक्षा लोकसेवा आयोगले लिन्छ । लिखित र मौखिक गरी दुई चरणको परीक्षा पार गरेपछि मात्रै जागीर खान पाइन्छ ।

लिखित परीक्षाको तयारी कसरी गर्ने भन्ने कुराको चिन्ता सबैलाई भइरहेको हुन्छ । परीक्षामा कस्ता प्रश्न सोधिने हो भन्ने कौतुहलता हुन्छ । लेखा तथा लेखा परीक्षणतर्फका उम्मेदवारलाई लेखा तथा लेखा परीक्षण, वित्तीय कानुन र बैंकिङ तथा वित्तीय व्यवस्थापनसम्बन्धी प्रश्न सोधिन्छ । एकाउन्टिङ स्टान्डर्ड, नेपालको अवस्था लगायतका विषयमा सोधिन्छ । यसबाहेक समग्र पदहरुका लागि निम्न प्रश्नहरु सोध्ने सम्भावना हुन्छः

पहिलो चरणमा हुने आर्थिक तथा व्यवस्थापकीय अभिरुची परीक्षणमा अर्थशास्त्रसम्बन्धी आधारभूत शब्दावलीहरु, नेपालको अर्थतन्त्र, व्यापारिक संरचना, भुक्तानी सन्तुलन, विनिमय दर, सार्वजनिक ऋण, रेमिट्यान्स, उद्योग व्यवसाय एवम् वैदेशिक लगानीको अवस्थाका बारेमा सोधिन्छ । त्यस्तै, नेपालको बैंकिङ प्रणाली, राष्ट्र बैंक, बैंकिङ कानुन र नीति, व्याजदर, व्यालेन्स सिट, पुँजी बजार, मुद्रा बजार लगायतको विगतदेखि वर्तमान सम्मका प्रश्न सोधिन्छन् । नाफाघाटा, सम्भाव्यता, अनुपात जस्ता केही गणितीय सीप पनि परीक्षण गरिन्छ । साथमा सामान्य ज्ञानको पनि परीक्षण हुन्छ ।

त्यसपछिको चरणमा अलि विस्तृत कुराहरु सोधिन्छः
प्रचलित बैंकिङ कानुनहरु र संशोधनहरु जस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८, बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ आदि ।

विनियमावली तथा निर्देशनहरु जस्तै, नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निर्देशन एवम् परिपत्रहरु, विदेशी विनिमय कारोवार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था तथा अन्य निकायलाई जारी गरिएको परिपत्रहरु, नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली, २०६८ आदि ।

वित्तीय क्षेत्रसँग सम्बन्धीत अन्य कानुनहरु जस्तै, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, राष्ट्र ऋण ऐन, २०५८, धितोपत्र कारोबार ऐन, २०६३, आयकर ऐन, २०५८, मूल्य अभिवृद्धिकर ऐन, २०५२, कम्पनी ऐन, २०६३, दामासाही ऐन, २०६३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९, औद्योगिक व्यवसाय ऐन, २०४९, सुरक्षित कारोबार ऐन, २०६३, सम्पति शुद्धीकरण (मनी लण्डरिंग) निवारण ऐन, २०६४, लेखापरीक्षण ऐन, २०४८, सूचनाको हक सम्बन्धी ऐन, २०६४, सार्वजनिक खरिद ऐन, २०६३ आदि ।

अर्को चरण अर्थात् तृतीय पत्रमा बैंकिङ तथा वित्तीय व्यवस्थापनसम्बन्धी प्रश्न सोधिन्छ । वित्तीय स्थीरता, वित्तीय क्षेत्र विकास रणनीति, मर्जर तथा एक्विजिसन, पुनर्संरचना, जोखिम व्यवस्थापन, मुद्रा तथा पुँजी बजार, लगानी विश्लेषण, बैंकिङ अनुपातहरु, वासेल ३, मौद्रिक नीति, वित्तीय नीति, नेपाली अर्थतन्त्र, कर्पोरेट बजेटिङ, वित्तीय योजना तथा व्यवस्थापन, रणनीतिक योजना, पोर्टफोलियो विश्लेषण र व्यवस्थापना लगायतका विषयमा प्रश्न सोधिन्छ । यी विषयहरुको विस्तृत अध्ययन गर्नुपर्छ ।

केही प्रश्नहरु
नेपालको बैंकिङ तथा वित्तीय प्रणालीको विकासक्रम तथा स्वरुपको बारेमा लेख्नुहोस् ।
नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरु केके हुन् ?
बैंक तथा वित्तीय संस्थाहरुले केकस्ता बैंकिङ सेवाहरु प्रदान गर्दछन् ?
वित्तीय साक्षरता भनेको के हो ? यसको आवश्यकता र महत्वका बारेमा प्रष्ट पार्नुहोस् ।
नेपालमा वित्तीय साक्षरताको अवस्थाको विश्लेषण गर्नुहोस् ।
नेपालमा वित्तीय समावेशीकरणको अवस्थामाथि प्रकाश पार्नुहोस् ।

-बैंकिङ खबरबाट