ब्राजिलमा बसमा बन्धक बनाइएका सबै यात्रु मुक्त, अपहरणकारी मारिए

रियो द जनेरियो- ब्राजिलको पर्यटकीय सहर रियो द जनेरियोमा बन्धक बनाइएको बसका सबै यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि अपहरणकारीको मृत्यु भएको छ। एक प्रहरी अधिकारीले भने, ‘प्रहरीले अपहरणकारीको पञ्जाबाट बन्धक नागरिकलाई करिब चार घण्टाको अथक प्रयासपछि नियन्त्रणमा लिन सफल भएको छ।’

प्राप्त पछिल्लो जानकारीअनुसार अपहरणकारीले ३१ जनालाई बन्धक बनाएको भए पनि चार महिला र दुई पुरूष तत्काल भाग्न सफल भएका थिए भने बाँकी २५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो। अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ।

बन्धक बनाइएका कसैलाई पनि कुनै चोट नलागेको र उनीहरूलाई अहिले आफन्तको साथ लगाएर पठाउने तयारी भइरहेको ब्राजिलको प्रहरीले बताएको छ।एक बन्दुकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।