भारत सृजित नेपालको पश्चिम सिमाना समस्या !

निरज आचार्य, नेपालको पश्चिम सिमाना महाकाली नदी हो । महाकाली नदीको मुहान लिम्पियाधुरा हो । काली (कुुटीयांक्ति) नदी लिम्पियाधुराबाटै बगेर आउँछ भन्ने कुरामा कुनै भ्रम छैन । नेपालसँग भएका सन्धि सम्झौता, ऐतिहासिक नक्सा, पत्राचार,जनगणना लगत, तिरो तिरानका रेकर्डहरु र जलविज्ञानको आधार समेतले लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपालको सीमा नदी हो भन्नेकुरा स्पष्ट छ।

 

भारतले केही दिन अगाडि नेपाली भूभागलाई भारततर्फ पारी एकपक्षीय रुपमा नक्सा प्रकाशन गरेपछि भारत सृजित नेपालको पश्चिम सिमाना समस्या विवादका रुपमा सतहमा आएको छ । यस विवादले नेपालले आफूसँग भएका तथ्य तथ्यांक र प्रमाणहरुका आधारमा आफ्नो दावी प्रस्तुत गर्ने र स्थायी समाधान खोज्ने बाटो खुलेको छ । यसका लागि नेपाल सरकारले अबिलम्ब निम्न बमोजिम तयारीका कामहरु गर्नुपर्दछ ।

१. प्रविधिक तयारी: नेपाल भारतकाबीच सीमा सम्बन्धी भएका सन्धिसम्झौताहरु, ऐतिहासिक नक्सा, पत्राचार,जनगणना लगत, तिरोतिरानका रेकर्डहरुका आधारमा नेपालको नक्सा प्रकाशन गर्ने ।

२. प्रशासनिक तयारी: नेपाल सरकारका प्रशासनिक ईकाईहरु सीमा क्षेत्रमा व्यवस्थित गर्ने । सशस्त्र प्रहरी बल, नेपाली सेनाको युनिटहरु अबिलम्ब सीमा क्षेत्रमा राख्ने । दशगजा क्षेत्रभित्र रहेको भारतीय सुरक्षा फौजलाई दसगजा बाहिर हटाउने । तिंकरमा भन्सार र सीमा कार्यालयहरु स्थापना गरी अबिलम्ब सञ्चालनमा ल्याउनु पर्दछ ।

३. राजनीतिक र कूटनीतिक तहको कामः भारतका तर्फबाट नेपालको विभिन्न स्थानमा दशकौंदेखि सीमा मिचिदै आइरहेको छ । मुलत: यो भारतको हेपाह र मिचाह प्रवृत्ति हो । सीमा सम्बन्धी प्राविधिक विषयहरु र भारतीय नियतसँग सम्बन्धित विषयहरु खालि कार्माचारीको तहबाट छलफल गरेर समाधान सम्भव छैन । राजनीतिक उच्च तहबाट गम्भीर पहल लिन विलम्ब गर्नु हुँदैन । हामी भौगोलिक हिसाबले छिमेकी त बदल्न सक्दैनौं तर छिमेकीको बानी बदलाैं !

नेपाल सरकारले त्यस क्षेत्रको भौतिक पूर्वाधारको विकासमा समेत व्यवस्था गरेको छ । मिति २०७६ कार्तिक २५ गते दार्चुलाका सांसद गणेश ठगुन्नाले उपप्रधान तथा रक्षामन्त्रीसमक्ष पेश गरेको मागले प्रष्ट गर्दछ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.१ छाङ्गरु र तिंकरका जनता दार्चुला सदरमुकाम आउने बाटाे नभएकाले भारत सरकारसँग अनुमति लिई भारतको बाटो भएर आफ्नो जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता कायम छ ।

व्यास गाउँपालिकाको वडा नं. १ छाङ्गरुबाट वडा नं. २ दुम्लिङ्गसम्म घोडेटो बाटोसम्म खोलिदिएको खण्डमा भारतको अनुमति लिएर प्रशासनिक काम र बजारका लागि जिल्ला सदरमुकाम आउने समस्याबाट यस क्षेत्रका जनता मुक्त हुनेछन । मोटर बाटो बन्न समय लाग्ला तर घोडेटो बाटो बनाउने काम नेपाल सरकारले अविलम्ब शुरू गरोस् । नेपाल सरकारले आफ्नो प्रविधिक, प्रशासनिक र राजनीतिक तयारीका साथ कूटनीतिक पहल गरोस्, सीमा समस्या समाधान गर्न सम्भव छ ।