मेलम्चीका चिनिया ठेकेदार भन्छन् : राष्ट्रपति सीको आदेश छ !

काठमाडौं दुई दशकअघि नै सुरु भएको मेलम्ची परियोजनाले काठमाडौंमा पानी खसाउने मिति धेरै पटक तोकिए पनि काम अझै सकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष आगामी वैशाखमै मेलम्चीको खानेपानी काठमाडौंमा आइपुग्ने घोषणा गरेका थिए । त्योभन्दा पछि खानेपानी मन्त्री बीना मगरले दशैंमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरिन् । यसभन्दा पहिले पनि विभिन्न सरकारका पालामा काठमाडौंमा मेलम्ची आउने मिति तोकिएकै हुन् ।

पछिल्लो पटक मन्त्री मगरले दशैंमा पानी काठमाडौं झर्नेे दाबी गरिरहँदा निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी नै काम छोडेर हिँड्यो । सीएससी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बाँकी कामको जिम्मा दिएको छ । अहिले भने कहिले आइपुग्ला त पानी भन्ने प्रश्नमा सरकारका ठूला मान्छेहरु मुख खोल्ने हिम्मत गर्दैनन् । बुधबार मेलम्ची आयोजनाको साइड अफिसमा भेटिएकी खानेपानी मन्त्री मगर समेत कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नको जवाफ दिइनन् । सिनो हाइड्रोका प्रतिनिधिले आयोजना निर्माणमा विलम्ब नहुने बताएका छन् ।

अनुगमनका लागि पुगेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का लगायतसँग कुरा गर्दै सिनो हाइड्रोका टनेल इञ्चार्स सीओ ह्याउँले पहिले को–को भागे भन्ने बिर्सन आग्रह गरे । रफ्तारमा काम भइरहेको भन्दै उनले अझै कामदार थपेर निर्माण चाँडोभन्दा चाडो सक्ने योजना सुनाए ।

‘चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा समयसीमा नै सम्पन्न गर्नु भन्ने सन्देश आएको छ’ उनले भने, ‘काम चाडै सम्पन्न गर्नका लागि नेपालस्थित चिनिया दुतावासले समेत निकै चासो दिएको छ । त्यसैले यो हाम्रो राष्ट्रपति र देशको इज्जतको सवाल भएका कारण निर्माणमा कुनै विलम्ब हुँदैन ।’ आयोजना सम्पन्न कहिले हुन्छ भन्ने विषयमा सरकारले नबोल्ने नीति लिएको छ । यद्यपि, आयोजनाले भने चालु आर्थिक वर्षभित्रै सुन्दरीजलसम्म पानी पुर्‍याउने योजना रहेको बतायो ।