राजकुमार ह्यारी जियोग्राफी च्यानलको इन्स्टाग्राम सम्पादक

असोज १३, २०७६ बेलायती राजकुमार ह्यारी एक दिनका लागि नेशनल जियोग्राफी च्यानलको इन्टाग्राम सम्पादक बनेका छन्। सो क्रममा राजकुमार ह्यारी अहिले अफ्रिकाको मलावी नेशनल पार्कको भ्रमणमा छन्।

जहाँ उनले आठ दिन बिताउनेछन्, च्यानलका लागि तस्वीर खिच्नेछन्। पर्यावरणबारे जनचेतना बढाउने उद्देश्यले ह्यारीलाई अतिथि सम्पादक बनाइएको हो। नेशनल जियोग्राफी च्यानलले ह्यारीले खिचेका फोटो इन्स्टाग्राममार्फत जारी गरेको छ। उनले खिचेका अधिकांश तस्वीर पर्यावरणीय सुरक्षाका लागि रुखको महत्व झल्काउने प्रकृतिका छन्।

तस्वीरमा ह्यारीले मेहनतका साथ फोटो खिचिरहेको देखिन्छ। यो सोमबार उनले च्यानलको इन्स्टाग्राम पेज व्यवस्थापन तथा सामग्री पोष्ट गरेर बिताउँदैछन्।

‘लुकिङ अप’ नाम दिइएको यो अभियानका क्रममा उनले इन्स्टा प्रयोगकर्तालाई आँफूले खिचेका वातावरणसम्बन्धी तस्वीरहरू अपलोड गर्न प्रोत्साहित पनि गरेका छन्। उनले लेखेका छन्, ‘च्यानलले यो अवसर दिएकोमा म निकै खुसी छु। म आज मलावीको लिवोन्डे नेशनल पार्कमा छु। यहाँ हामी वृक्षारोपण पनि गर्दैछौं। वातावरणसँग जोडिएको यो अभियान निकै महत्वपूर्ण छ।

म केही फोटो पोष्ट गर्दैछु।’ प्रकृतिले धेरै कुरा दिएको भन्दै उनले पर्यावरण सुरक्षामा मानव जातिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। ‘मान्छे वा जीवजन्तुमध्ये एकमात्र रहने अवस्था आउनु हुँदैन। हामीले त्यस्तो अवस्था थेग्न पनि सक्दैनौं’, उनले भने। ह्यारी सामाजिक कार्यमा सामेल हुन रुचाउने प्रकृतिका छन्। भूकम्प गएको समयमा नेपाल आएका ह्यारी गोरखा पुगी पुनर्निर्माण कार्यमा सामेलसमेत भएका थिए।