राष्ट्र बैंकले नष्ट गर्यो पाँच खर्बका नोट

२२ असोज, काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ ।राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम नलाग्ने अवस्थामा पुगेको छ, तर त्यो नोटको नम्बर प्रष्ट देखिन्छ भने राष्ट्र बैंकबाट साटेर अर्को नलैजान सक्नुहुन्छ । अब तपाई लाग्न सक्छ, हामीसँग लिएको थोत्रा नोट राष्ट्र बैंकले गर्छ चाहिँ के ?

नेपाली नोटहरुको आयु धेरै लामो हुँदैन । ठूला नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताउँछन् । उनका अनुसार एक हजार रुपैयाँ र ५ सय रुपैयाँ भन्दा कमका नोटको आयु अझ कम हुन्छ । यी साना नोटहरुको आयु २ देखि ३ वर्षको मात्र हुने अनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार अहिले करिब ५ खर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा छन् । यसमध्ये राष्ट्र बैंक स्थापना हुनुअघि नै सरकारले निष्काशन गरेको ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ विभिन्न दरका नोटहरु समेत छन् ।

राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकले बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको देखाउँछ । जति नोट प्रचलनमा छन्, सोही हाराहारीमा हालसम्म राष्ट्र बैंकले नोट जलाइसकेको छ । करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा रहेको र झण्डै सोही परिमाणका थोत्रा नोट जलाएर नष्ट गरिएको राष्ट्र बैंकले बताएको छ ।