रोनाल्डोले ७०० गोल गर्दा पोर्चुगल पराजित

२८ असोज, काठमाडौं । विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् । उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित हुन पुगेको छ ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २-१ गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा नै २-० गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल हार्न पुग्यो ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । युक्रेन भने सात खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १९ अंकसहित शीर्ष स्थानमा रहंदै युरो कप २०२० मा छनोट भएको छ ।