हामी विदेशमा बस्ने नेपाली चाहन्छौँ, राजनीतिक अधिकारसहितको नागरिकता र लगानी

गौरीराज जोशी, नेपालका करिब ६० प्रतिशत घरपरिवारको रेमिट्यान्स आम्दानीको स्रोत बनेको छ । नेपालले गत आर्थिक वर्ष करिब नौ सय अर्ब (९ खर्ब) रुपैयाँ विदेशमा जाने नेपालीबाट प्राप्त गरेको छ । राष्ट्रबैंकको तथ्यांकअनुसार केही समययता नेपाली विद्यार्थी बढी संख्यामा जाने विकसित देशबाट जाने रेमिट्यान्स बढ्दो क्रममा छ । रेमिट्यान्सले नेपालमा रेस्टुराँ व्यवसाय, बैंक बचतदेखि घरजग्गा कारोबारसम्ममा असर पारेको छ । सरकारको राजस्वमा रेमिट्यान्सको योगदान १ खर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । हामी गैरआवासीय नेपाली संघ विश्व सम्मेलनको लगभग संघारमा आइपुगेका छौँ । करिब ५० लाख नेपाली विदेशमा बस्दै आएको भएरमात्र होइन नेपाली अर्थतन्त्रको विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्समा बढ्दो निर्भरताले पनि यो सम्मेलनको महत्त्व सिद्ध हुन्छ । नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या कम गर्नदेखि विदेशी मुद्राको संचिती, भुक्तानी सन्तुलनलगायतका अर्थतन्त्रका मुख्य सूचकमा पनि रेमिट्यान्सको महत्त्वपूर्ण योगदान छ ।

विदेशमा जनशक्ति पठाएर सधैँ देश सञ्चालन गर्छु भन्नु उपयुक्त हुँदैन । यसको विकल्प खोज्नुपर्छ । तर, पनि अहिलेको अवस्थामा रेमिट्यान्सको विकल्प देखिँदैन । यो यथार्थ हुँदाहुँदै पनि विदेशमा बस्ने नेपालीहरू समस्याग्रस्त छन् । आफ्नो देश, जन्मभूमिभन्दा टाढा हुँदाको समस्या त छँदै छ यसबाहेक हामीमाथि हुने व्यवहार र नियम कानुनका अप्ठेरा पनि भोग्दै आएका छौँ । हामी कतै दोस्रो दर्जाका नेपाली नागरिक हुने हौँ कि भन्ने त्रास पनि पलाउँदै गएको छ ।

हामी विदेशमा बस्ने नेपाली के चाहन्छौँ ?

खाडी मुलुकमा लाखौं संख्यामा नेपाली रोजगारका सिलसिलामा बस्दै आएका छन् । यहाँ समस्या पनि बढी छ । तर, नेपाल सरकार र त्यहाँका कूटनीतिक नियोगले समस्यामा पर्ने नेपालीलाई उपयुक्त सेवा चुस्तरुपमा दिन नसकेको गुनासो व्याप्त छ । त्यहाँमात्र होइन विदेश जाँदादेखि फर्किएर घरसम्म पुग्दासमेत थुप्रै ठाउँमा हण्डर र ठक्कर खानुपरेको छ । कतिपय ठाउँमा ठगिनु परेको छ । विदेशबाट नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै समस्या सुरु हुन्छ । विमानस्लथमा सामान लिँदाको सास्तीदेखि बाहिर निस्कनेबित्तिकै गरिने दुव्र्यवहार घर नपुग्दासम्म सहनुपर्छ ।पहिलो विदेशमा रोजगार वा व्यवसाय गर्नेलाई सम्मान होस् भन्ने हाम्रो चाहना हो । माथिनै मैले उल्लेख गरिसके नेपालको अर्थतन्त्रलाई अहिले रेमिट्यान्सले भरथेग गरिरहेको छ । देशमा पर्याप्त अवसर नभएर बाध्यतावश विदेशमा रोजगारी वा व्यवसाय गर्न पुगेका हामीले थुप्रै समस्या भोग्दै आएका छाैँ । खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, हंङकङलगायतका देशमा ठूलो संख्यामा नेपाली रोजगारका लागि गएका छन् । तर, त्यहाँ नेपालीले थुप्रै समस्या भोग्दै आएका छन् ।

खाडीमुलुक र मलेसियाजस्ता धेरै नेपाली रहेका देशले समग्र नेपालकै प्रतिनिधित्व गर्छन् । कूटनीतिक नियोगको सक्रियता र संकटमा पर्ने नेपालीलाई तत्काल सहयोग गर्ने तत्परता, नियम कानुनको कार्यान्वयन प्रभावकारी भयो भने त्यहाँका समस्याको केही हदसम्म सम्बोधन पनि हुन्छ । जुन अहिलेसम्म भएको छैन । नेपालका कूटनीतिक नियोगबाट राहदानीदेखि विभिन्न सिफारिस लिन पनि सहज छैन । कतिपय अवस्थामा प्रहरी प्रशासनसमेतले दुःख दिने गरेका छन् । यो अवस्थालाई सुधार गर्नु आवश्यक छ र विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई सम्मान हुनुपर्छ । यो सजिलै हुँदैन । हामीले चर्को स्वरमा आवाज उठाउन सक्नुपर्छ, आवश्यक परे सम्बद्ध निकायलाई दबाबसमेत दिनुपर्छ ।

दोस्रो, हाम्रो माग नेपाली नागरिकताको निरन्तरता नै हो । नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ । यसका लागि अहिलेसम्म ऐन कानुन भने स्वीकृत भइसकेको छैन । यो नागरिकतामा राजनीतिक अधिकारबाहेक सबै अधिकार नेपाली सरह उपयोग गर्न पाइने भन्ने छ।
नेपालमा जन्मेर नेपाली नागरिकता लिइसकेपछि विदेशी नागरिकता लिनेको हकमा पनि नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हाम्रो आग्रह हो । अमेरिका, युरोप, अस्ट्रेलिया बस्ने थुपै नेपालीले त्यहाँको नागरिकता स्वीकार गरेका छन् । यसलाई नेपाली नागरिकता त्यागेको अर्थमा बुझ्नु हुँदैन । त्यहाँ बस्न, रोजगार गर्न सजिलो होस् भन्ने उद्देश्यले नागरिकता लिइएको हो । यसले नेपाललाई केही बेफाइदा हुँदैन बरु फाइदा नै हुन्छ ।

नेपालको राहदानीको मर्यादा बढाउनुपर्छ भन्नेमा दुईमत छैन तर विदेशी पासपोर्ट लिएर यात्रा गर्दैमा पराइ भयो भन्न मिल्दैन । यो व्यावहारिकताले गर्दा विदेशी राहदानी लिनुपरेको मात्र हो । बेलायती सेनामा काम गर्ने नेपालीले नेपालमा आउँदा चुनावमा भोट हाल्छन् । राजनीतिक गतिविधिमा सहभागी हुन्छन् । यसले नेपाललाई कुनै हानि गरेको छैन । फाइदै भएको छ । विदेशमा बसेर ज्ञान, सीप र धन आर्जन गरेको नेपाली नेपाल आएर आफ्नै गाउँठाउँको विकासका लागि राजनीतिमा सहभागी भएर काम गर्न आउँछ भने नेपाललाई बेफाइदा हुँदैन । बरु फाइदा नै पुग्छ ।

आफ्नो देश र जन्मभूमिको माया देश छाडेर टाढा हुँदा अझ बढेको हुन्छ । देशलाई संकट पर्दा विदेशमा वस्ने नेपाली सडकमा उत्रिएका छन् । भारतले केही वर्षअघि नेपाललाई आर्थिक नाकाबन्दी लगाउँदा न्युयोर्कदेखि लन्डनलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली सडकमा उत्रिएका थिए । यो देशको मायाले गर्दा न हो । आवश्यकता पर्दा आउने दिनमा पनि नेपाली यसरी सडकमा उत्रिनेछन् । त्यसैले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ भन्ने हाम्रो माग हो । यसबाट नेपाललाई फाइदा हुन्छ भन्ने ग्यारेन्टी पनि हामी गर्न सक्छौँ । यसको विरोध गर्नेहरु सरकारदेखि सडकसम्म छन् । यसो हुनुमा हामीले यसका फाइदाका बारेमा राम्रोसँग बुझाउन नसकेर हो । अब राजनीतिक अधिकारसहितको नागरिकता दिँदाका फाइदाका बारे हामीले सरकार, राजनीतिक पार्टी र नेपाली जनतासँग छलफल चलाउनु पर्छ ।

तेस्रो, लगानी र व्यावसायिकता हो । नेपालको आर्थिक विकासका लागि अझ बढी लगानीको खाँचो छ । रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई त्यसबाट बाहिर निकाल्न पनि थप लगानीको खाँचो छ । विदेशमा बस्ने नेपाली अहिले पहिलेभन्दा बढी सम्पन्न हुँदै गएका छन् । सानो होस् वा ठूलो विदेशमा आर्जन गरेको पुँजी नेपालमा लगानी गर्ने हैसियत बनाउने नेपालीको संख्या बढ्दो छ । लगानी गर्ने चाहना पनि छ । विदेशमा वस्ने कतिपय नेपालीले विभिन्नरुपमा नेपालमा लगानी गर्नुभएको पनि छ ।

विदेशमा बस्ने नेपाली लगानीमात्र लिएर आउने होइनन् नयाँ सीप र ज्ञान पनि ल्याउँछन् । अहिले देशका लागि त्यसैको आवश्यकता छ । लगानी नाफाका लागि नै गरिन्छ । यो समाजसेवा होइन । अझ उदार वातावरण भयो भने विदेशमा बस्ने थुप्रै नेपाली लगानीका लागि अभिप्रेरित हुनेछन् ।
नेपालमा लगानीमात्र होइन विदेशमा पनि नेपालीलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्छ । अमेरिका, अस्ट्रेलिया, जापानलगायत थुप्रै देशमा व्यवसायमा नेपालीहरु सफल भइरहेका छन् । दुई वर्षअघि आर्थिक पत्रकारको संस्था सेजनले गरेको सर्वेक्षणमा ९ जिल्लामा मात्र ३० अर्ब रुपैयाँ विदेशमा बस्ने नेपालीले लगानी गरेको देखिएको थियो । यो बढ्दो क्रममा छ ।

देशभरको तथ्यांक हेर्ने हो भने यो अंक निकै ठूलो हुन्छ । तर, यसमा कैयौं समस्या छन् । पैसा नेपाल ल्याउनदेखि फिर्ता लैजानसम्मका झन्झट छन् । पाँच करोड रुपैंया वा त्यसभन्दा माथिको लगानीलाई मात्र विदेशी लगानी भन्ने ऐन आएको छ ।एकैपटक पाँच करोड लगानी गर्न नसक्ने वा सक्ने भए पनि एकै पटक जोखिम किन लिने भन्नेलाई यस प्रावधानले नेपालमा पैसा ल्याउन बाधा पगेको छ । विदेशी लगानीलाई रातो कार्पेट ओछ्याइएको छ भन्ने हामीले सुन्दैआएका छौँ । तर, यो व्यवहारमा महसुस गर्न सकेका छैनौ । म आफैँले नेपालमा लगानी गर्दा भोगेको समस्या हो यो । लगानी भित्र्याउन अझ उदार नीतिहरु आवश्यक छ । स्थानीय अवरोध कम गर्नुपर्छ ।

अहिले विश्वका कैयौं सहरमा नेपालीको व्यवसाय भेटिन्छ । बढीभन्दा बढी नेपालीलाई व्यवसाय गर्न एनआरएनए संचरनाले प्रेरित गर्न सक्छ । हामीले ८० देशका एनआरएनए एनसीसीलाई यसका लागि परिचालन गर्न सक्छौं । एनआरएनए सम्बन्धित समितिलाई नेपालीलाई व्यवसायमा लाग्न अभिप्रेरित गर्न उत्प्रेरकको भूमिका खेल्न सक्छन् । यसका लागि केही आधारहरु भने बनाउनुपर्छ । एउटा नेपाल र सम्बन्धित देशबीच दोहोरो कर उन्मुक्तिको प्रावधान हो। दुवैतर्फ कर लाग्ने व्यवस्था हटाउन एनआरएनएले पहल गर्न सक्छ । यसका लागि सम्बन्धित एनसीसी उपयुक्त संस्था पनि हो । एनआरएनएले यसका लागि गृहकार्य गरेर रूपरेखा बनाई एनसीसीलाई यसको जिम्मेवारी दिन सक्छ । (जोशी एनआरएनएको आगामी निर्वाचनमा सचिव पदका आकांक्षी हुन्)