• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपालबाट चोरेर विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउछौ: मन्त्री आले

ByAgrim Post

Mar 2, 2022

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरीलगायत विभिन्न कारणबाट विदेश पुर्याइएका मूर्तिहरू फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।

नेपालबाट हराइ (चोरी भइ) अमेरिका पुगेका तीन थान मूर्ति फिर्ता ल्याइ आज बुधवार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देश र त्यहाँका सङ्ग्रहालयमा रहेका भन्ने खबर आएकाले फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चोरी वा अन्य कुनै कारणबाट हाम्रा देशका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देशमा रहेको खबर पाएका छौँ, आवश्यक प्रमाणसहित परराष्ट्र मन्त्रालयको सहकार्य तथा इन्टरपोलमार्फत नेपाल ल्याउने छौँ ।’ यस्तै मन्त्री आलेले नेपालबाट हराएका अन्य मूर्तिहरू फिर्ता ल्याउनका लागि परराष्ट्र मन्त्रालय, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग र पहल गर्नसमेत आग्रह गर्नुभयो ।

आज सार्वजनिक गरिएका तीन वटा मूर्तिहरु १७ औँ शताब्दीको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मुर्ति, १३ औँ शताब्दीको कलात्मक काष्ठ तोरण मूर्ति र १४ औँ शताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला रहेका छन् । यी मूर्ति अमेरिकाको न्युओर्कमा रहेको रुबियन म्युजियम अफ आर्टले फिर्ता गरेको हो ।

मूर्तिहरू आफ्नै खर्चमा नेपाल ल्याउनुभएकोमा मन्त्री आलेले रुबियन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सगी र मिशेल बेनेट सिमोरेलालाई धन्यवाद दिनुभयो । यो म्युजियमले आफ्नै खर्चमा २० हजार डलरमा ती मूर्तिहरू फिर्ता ल्याएको हो ।

नेपालबाट हराएका मूर्तिहरूमध्ये अहिलेसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट १४ थान, तिब्बतबाट २८ थान, कोलकताबाट १३ थान, जर्मनीबाट एक थान फिर्ता भइसकेको पुरातत्त्व विभागले जनाएको छ । यस्तै अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलियालगायतका देशमा थप केही मूर्ति र कलात्मक वस्तुहरु रहेकाले फिर्ता ल्याउन कुटनीतिक पहल भइरहेको विभागले जनाएको छ । उज्यालो अनलाइन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *