प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पास गरेपछि विश्वमाझ नेपालको विश्वसनीयता बढेको बताएका छन्। सरकारी निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा देउवाले यसो भनेका हुन्।
बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्। देउवाले आजको बैठकमा संसदबाट एमसीसी पारित गर्न सघाएको भन्दै गठबन्धनका सदस्य दलहरुलाई पनि धन्यवाद दिएका कार्कीले बताएका छन्।
सभापति देउवाले गठबन्धनसम्वद्ध सबै पार्टीमा रहेको अप्ठ्यारो र तनावका बावजुद एमसीसी अनुमोदन हुन सकेकोमा खुसी व्यक्त गरेका छन्। बैठकपछि बोल्दै मन्त्री कार्कीले एमसीसी अनुमोदनपछि गठबन्धन झनै बलियो भएकाले अझै अगाडि बढ्ने बताएका छन्।
‘एमसीसी अनुमोदनपछि नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको छ। एमसीसी अन्तर्गतको परियोजना पाँच वर्षमै सकेर बजेट फिर्ता जान नदिन हामी एक ठाउँमा उभिन्छौँ’, उनले भने, ‘एमसीसी अन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् ट्रान्समिसन लाइन बन्छ। त्यस्तै अन्तर्राष्ट्रियस्तरको सडक पनि बन्छ। यसलाई हामी मेलम्ची खानेपानी जस्तो ३० वर्षसम्म जान दिँदैनौँ।’