पूजाको ‘इमोसनल ब्ल्याकमेल’
पल शाहको विषयमा अभिनेत्री पूजा शमाले भने दर्शकलाई ‘इमोसनल ब्ल्याक मेल’ गरिरहेकी छन् । उनी फिल्म ‘म यस्तो गीत गाउँछु २’ चलाउन पलका फोटो अंकित टिसर्ट लगाएर रुँदै–कराउँदै हलमा पुग्नेदेखि पल विना आफू अधुरो रहेको भन्ने समेत गरिरहेकी छन् । ‘पल निर्दोष छ’ भन्दै उनी न्यायाधीश समेत बन्ने गरेकी छन् । पलकोविरुद्ध उजुरी गर्ने नाबालिग गायिकालाई उनले उमेर हेरेर काम गर्नुपर्ने समेत बताउँदै आएकी छन् । उनले एक युट्युबरलाई दिएको अन्तर्वार्ता केटी मान्छे नाबालिग पनि हुन्छ । तर,आफ्नो उमेरमा कतिसम्म गर्नुपर्ने भनेर सोच्नुपर्छ भन्ने बताएकी छन् ।
उनले भनकी छन्, ‘उसले (नाबालिग) यो सोच्नु पर्थ्यो कि म सानै छु । पलले कपडा च्यातिदिने,जबर्जस्ती गरेको जस्तो मलाई लाग्दैन । किनकि,पल त्यस्तो क्यारेक्टरको मान्छे होइन ।’
पलमाथि लागेको बलात्कारको आरोपपछि आफूले बलात्कारको परिभाषा नै नबुझेको समेत उनले बताउँदै आएकी छन् । कलाकारलाई कानुनले आम मानिस भन्दा सम्मानजनक व्यवहार गर्नुपर्ने उनको धारणा रहँदै आएको छ । उनले दोषी प्रमाणित नहुँदै पललाई हतकडी लगाएको समेत चित्त नबुझेको धारणा समेत राख्दै आएकी छन् ।