• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मान्छेको संगतले अल्छी बन्दै बाँदरहरु…

ByAgrim Post

Mar 3, 2022

बाँदर जंगलमा समूहमा बस्न रमाउने प्राणी हो । उनीहरु जंगलमा पाइने फलफूल, कन्दमुललगायतका खानेकुरा खाएर बाँच्ने गरेका छन् । तर, पछिल्लो समय मानिसहरुले सडकमा खानेकुरा दिने बानी गरेपछि उनीहरु सडकमै आएर खाना कुर्न थालेका छन् ।

उनीहरु सडकमा मानिसहरुले सहजै खानेकुरा दिने आशमा आफै खाना खोज्न अल्छी गर्न थालेका छन् । बाँदरहरु खानाको आशमा सडकमा झुण्ड बनाएर आउँदा सडक दुर्घटनालगायत विभिन्न समस्याहरु देखिन थालेका छन् ।

रौतहटको पूर्वपश्चिम राजमार्गका दर्जनौं स्थानहरुमा बाँदरहरुको झुण्ड देखिने गरेको छ । जंगलमा बस्नुपर्ने बाँदर सडकमा निस्कदा समस्या देखा पर्न थालेको छ । मानिसले खानेकुरा दिने आशामा सडकमा आउने बाँदरहरुका कारण राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।

यहाँका सडकहरुमा दुर्घटनाबाट मृत्यु हुने बाँदरको संख्या पनि बढ्दो छ । अचानक सडकमा आउने बाँदरलाई बचाउन खोज्दा दुर्घटना हुने जोखिम उच्च रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले बताए ।

यहाँका जंगलहरुमा ठूलो संख्यामा राता बाँदरहरु र फाट्टफुट्ट ढेडु बाँदरहरु पाइने गरेका छन् । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुले रोकेर यात्रीहरुले बाँदरहरुलाई बिस्कुट, फलफूल, पाउरोटीलगायतका खानेकुराहरु दिने गरेका छन् ।

यसरी बाँदरहरुलाई खानेकुरा दिने बानी मानिसहरुले लगाएपछि बाँदरहरुले जंंगलमा आफैले खानेकुरा खोज्न छोडेर राजमार्गमा खानाको आशमा आउने गरेको वन्यजन्तु विज्ञ प्राडा मुकेस कुमार चालिसे बताउँछन् । यसरी सडकमा बाँदरहरुलाई खाना दिने बानी गरेपछि बाँदरहरु अल्छी हुँदै गएको र जंगलको प्राकृतिक खाना खोज्न छाडेर राजमार्गमा भौतारिने गरेको उनको भनाइ छ ।

‘बाँदरहरु बिहानदेखि साँझसम्म खानाकै आसमा जंगल छाडेर राजमार्ग वरपर बस्ने गरेका छन्’ उनी भन्छन्, ‘उनीहरुले जंगलमा खाना खोज्न अल्छी गर्न थालेका छन् । यसले उनीहरुलाई पनि असर गरिरहेको छ ।’

मानिसहरुले मायाले राजमार्गमा खाना दिने बानी गरेपछि बाँदरहरुको खाना जंगलमै प्राकृतिक खाना खोज्ने बानीमा ह्रास हुँदै गइरहेको पाइएको विभिन्न अध्ययनहरुले देखाएको वातावरणविद् सुमन घिमिरे बताउँछन् । ‘मानिसहरुको क्षणिक मायाले बाँदरहरुको खाद्य समस्या हटाउन सक्दैन्’ उनी भन्छन्, ‘बिस्कुट, पाउरोटि, चिजवल्सका केही प्याकेटले उनीहरुको भोक टार्न सक्दैन् बरु उल्टै उनीहरुलाई खानाको लागि परनिर्भर बनाइरहेको छ ।’

बाँदरहरु कसैले सवारी साधन रोके दौडदै यात्रु वरपर झुम्मिन्छन् । सडक छेउमा फालिएका फोहोर र म्याद गुज्रिएका खाद्य सामग्री पनि बाँदरको लागि आहारा बन्ने गरेको छ । मानिस र बाँदरको नजिकको संगतले मानिसहरुको रोगलगायतको संक्रमण बाँदरमा सर्ने सम्भावना उच्च रहेको र पछि त्यो संक्रमण मानिसमानै फैलनसक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।

यसरी प्रकृतिमा रमाउने जनावरलाई छेडखानी गर्नु कानून विपरित भएकाले बाँदरहरुलाई खानेकुरा नदिन डिभिजन वन कार्यालय रौतहटले चेतवानी दिएको छ । सो कार्यालयका प्रमुख अमरदेव यादवले आम सर्वसाधरणले यस्ता कार्यहरु बन्द गरेर बाँदरहरुलाई प्राकृतिक वासस्थानमा रमाउन प्रेरित गर्दै त्यहीँ किसिमको वातावरण सिर्जना गर्नमा जोड दिए ।

उनले कसैले बाँदरलाई खाना दिएको भेटिएमा कानून बमोजिम कारवाही गर्ने बताउँदै यस्ता कार्यलाई प्रोत्साहन नदिन सर्वसाधरणहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *