प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन भएको दोस्रो दिन मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी खुसी व्यक्त गरेका छन् । विदेशमन्त्री ब्लिंकेन एमसिसी बोर्डका अध्यक्ष हुन् । एमसिसी मुख्यालयले पनि मंगलबारै विज्ञप्तिमार्फत अनुमोदित सम्झौता स्वीकार गरिएको भन्दै कार्यान्वयन हुने जनाउ दिएको छ ।
प्रधानमन्त्री देउवासँग अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपाली समयअनुसार मंगलबार राति टेलिफोन गरेका थिए । देउवाले बुधबार ट्विटरमार्फत टेलिफोन संवादको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौँ ।’
अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपालको संसद्ले एमसिसी पारित गरेकोमा खुसी व्यक्त गर्दै ब्लिंकेनले युक्रेनमा भएको रुसी आक्रमण र कोभिड– १९ पछि अर्थतन्त्र पुनरुत्थानका विषयमा पनि छलफल गरेका छन् । ‘विदेशमन्त्री ब्लिंकेनले संयुक्त राज्य अमेरिका र नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनामार्फत नेपाली जनताको रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभाको बहुमतले १२बुँदे व्याख्यात्मक घोषणासहित ५० करोड अमेरिकी डलरबराबरको एमसिसी अनुदान सम्झौता पारित गरेको थियो ।
१२बुँदे व्याख्यात्मक घोषणासहित नेपालको संसद्ले अनुमोदन गरेको एमसिसी अनुदान सम्झौतालाई अमेरिकाले स्वीकार गरेको छ । व्याख्यात्मक घोषणालाई लिएर विभिन्न आशंका जारी रहँदा एमसिसी मुख्यालयले यसलाई स्वीकार गरेको हो ।
एमसिसी मुख्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा प्रमाणित गरेको छ ।’ आइतबार संसद्ले १२बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौतालाई अनुमोदन गरेको थियो ।
अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ । ‘सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ । परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा छ । विद्युत् र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको बुझाइ छ ।
नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्ध सम्झिँदै एमसिसीले यसबीचमा नेपालमा भएका विकास सहायता, प्रकोपको उद्धार, सहायता, स्वास्थ्य र शिक्षासँग सम्बन्धित कार्यक्रममार्फत अमेरिकी सरकार र जनता नेपालसँगै उभिएको जनाएको छ । ‘अमेरिकाको नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा माथि छ, हामी लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक सम्पन्नताका लागि नेपाललाई निरन्तर सहयोग गर्नेछौँ,’ एमसिसीले भनेको छ । एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ ।