काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय कमिटीको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा फरक मत पेस गर्ने भएका छन्।
गत पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा फागुन ४ को संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनविना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको भन्दै असन्तुष्टि जनाउँदै आएका नेता श्रेष्ठले एमसीसीकाे विषयलाई लिएर बैठकमा लिखित फरक मत पेस गर्ने भएको हो।
उनले महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा पार्टी नेतृत्व एमसीसीको पक्षमा उभिएको भन्दै आपत्ति जनाउँदै आएका छन्। ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णयप्रति आपत्ति जनाउँदै आउनुभएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ’, श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यहीअनुसार आगमी रणनीति तय हुनेछ।’
उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनीभूत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन्। माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृहमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। बैठकको एजेन्डामा केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन रहेको पार्टीले जनाएको छ।