मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘रुसले कुनै पनि हालतमा आफ्नो लक्ष्य प्राप्त गरेरै छाड्ने’ बताएका छन् । फ्रान्सेली समकक्षी एमानुएल माक्रोंसँगको कुराकानीमा पुटिनले ‘युक्रेनलाई निःशस्त्रीकरण गर्ने र तटस्थ बनाउने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न हुने’ बताएका हुन् ।
दुई नेताहरूबीच बिहीबार भएको टेलिफोन कुराकानीबारे सार्वजनिक विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले ‘रुसका मागहरू बढ्दै जाने’ पुटिनले बताएका उल्लेख छ ।
कुराकानीका क्रममा पुटिनले ‘माक्रोंले बुधबार गरेको एक सम्बोधनप्रति आपत्ति जनाएका बताइएको छ । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोंले ‘युद्धका लागि पुटिन मात्रै जिम्मेवार रहेको’ बताएका थिए ।
‘राष्ट्रपति पुटिनले एक्लै युद्ध रोज्नु भनेको आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई धोका दिनु हो,’ माक्रोंले भनेका थिए, ‘यो युद्ध कतिपयले विश्वास गरेजस्तो पश्चिमी देश र रुसबीचको होइन । रुसलाई युक्रेनमाथि आक्रमण गर्न कसैले उक्साएको होइन । रुस आफैंमा आक्रमणकारी हो ।’
यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ‘तेस्रो विश्वयुद्ध भएको खण्डमा त्यो ‘परमाणु युद्ध’ हुने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने बताएका भन्दै लाभरोभले परमाणु युद्धको चेतावनी दिएका हुन् ।
‘तर त्यो कुरा केवल पश्चिमा नेताहरूको दिमागमा छ । रुसी जनताको दिमागमा छैन,’ रुसी राजधानी मस्कोमा बिहीबार आयोजित एक प्रेस सम्मेलनमा बोल्दै लाभरोभले भने, ‘यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ । मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ ।’
उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) ले रुसी तटीय क्षेत्रमा पश्चिमा देशको सुरक्षा सुदृढ गर्ने प्रयास मात्र गरेको लाभरोभको भनाइ छ । उनले अमेरिकाले हिटलर र नेपोलियनले जस्तै युरोपमा आफ्नो प्रभुत्व कायम गर्न खोजेको आरोप लगाए ।