रुसले युक्रेनमा आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रले रुसमाथि आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका छन्।
हालैमात्र रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पश्चिमा राष्ट्रहरुले आक्रामक गतिविधि देखाएको भन्दै आफ्ना डिटरेन्ट फोर्सलाई तयार भएर बस्न निर्देशन दिएका छन्। डिटरेन्ट फोर्स रुसको विशेष सैन्य समूह हो जहाँ परमाणु हतियार पनि सामेल छ।
उनको यो घोषणालाई रुसले परमाणु हतियार प्रयोग गर्नसक्छ भन्ने संकेतको रुपमा हेरिएको छ। यससँगै विश्वभर परमाणु हतियारको बहस बुलन्द रुपमा छेडिएको छ।
बीबीसीका अनुसार शीत युद्धपछि परमाणु हतियारको भण्डारणमा कमी आएको छ तर अझैपनि विश्वमा सयौं परमाणु हतियार छन् जसलाई पल भरमै छाड्न सकिन्छ।
परमाणु हतियार ज्यादै शक्तिशाली विस्फोटक बम हो। परमाणु हतियारको प्रयोगपछि धेरै मात्रामा विकिरण पैदा हुन्छ त्यसैले यसको धमाका धेरै बेरसम्म रहिरहन्छ।
विश्वमा अहिलेसम्म दुईपटक मात्र परमाणु बमको प्रयोग भएको छ जसले विश्वमा ठूलो नोक्सानी भएको थियो।
आजभन्दा ७७ वर्ष अगाडि अमेरिकाले दुईवटा परमाणु बम प्रहार गरेको थियो। ७७ वर्ष अगाडि ६ अगष्टमा अमेरिकाले जापानको हिरोसिमामा र ९ अगष्टमा नागासाकीमा परमाणु बम खसाएको थियो।
अन्तर्राष्ट्रिय दस्तावेजका अनुसार हिसोसिमामा त्यसबेला ८० हजार र नागासाकीमा एकैपटक ७० हजारले ज्यान गुमाएका थिए।
परमाणु हतियार भएका देश
विश्वमा अहिलेसम्म ९ देशसँग परमाणु हतियार छ। अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग परमाणु हतियार छन्।
परमाणु हतियारको विषयमा कुनै देशले खुलेर जानकारी दिएका छैनन्। यद्यपी परमाणु शक्ति सम्पन्न देशहरुसँग कुल मिलाएर ९ हजारभन्दा बढी त्यस्तो हतियार भएको अनुमान गरिन्छ।
स्वीडेनस्थित थिंक ट्यांक संस्था स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युट सिप्रीले गतवर्ष आफ्नो एक प्रतिवेदन सार्वजनिक गरेको थियो।
जहाँ सन् २०२० को सुरुवातसम्मको तथ्यांक सार्वजनिक गरिएको छ। त्यहाँ ९ देशसँग लगभग १३ हजार ४ सय परमाणु हतियार भएको बताइएको छ। तीमध्ये ३ हजार ७२० तैनाथ भएको जनाइएको छ।
सिप्रीका अनुसार लगभग १८ सय परमाणु हतियार उच्च सतर्कताका साथ तैनाथ गरिएको छ। यसको अर्थ ती हतियार जतिबेला पनि प्रयोग गर्न सकिन्छ।
रिपोर्टअनुसार सबैभन्दा बढी परमाणु हतियार भएको देश रुस हो। उसँग ६ हजार ३७५ परमाणु हतियार छ, यस्तै अमेरिकासँग ५ हजार ८ सय परमाणु हतियार छ।
सो रिपोर्टअनुसार रुससँग तयारी अवस्थामा १६ सय २५ परमाणु हतियार छन् जुन आवश्यकता अनुसार रुसले प्रयोग गर्न सक्दछ।
अमेरिकासँग भने १८ सय तयारी अवस्थाका परमाणु हतियार छन्। बीबीसीको सहयोगमा