काठमाडौं । अभिनेता पल शाह प्रकरणमा आफ्नो अभिव्यक्ति दिएपछि नायिका पूजा शर्मा निकै विवादित बनिन्। अभिनेता शाहमाथि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएपछि पूजाले पीडितलाई नै दोषी देखाउने गरि बोलिन्। यतिमात्र हैन पूजाले आफूले बलात्कारको अर्थ नबुझेको पनि भन्न भ्याइन्। पल कपडा च्यातेर, बल प्रयोग गरेर बलात्कार गर्ने खालको केटो नभएको पनि बताइन्। पूजाको अभिव्यीक्तपछि बलात्कार भनेको कपडा च्यातेर, जबरजस्ती बल प्रयोग गरेर राखिएको यौन सम्बन्ध भन्ने अर्थ थियो। जाहेरी दिने बालिकाको सहमतिमै भएको आशय व्यक्त गरेकाी पूजाले त्यसलाई बलात्कार भन्न नमिल्ने बताएकी थिइन् ।
उनको अभिव्यक्तिपछि हाल उनैको पुरानो अन्तरवार्ता चर्चामा आयो। लकडाउनको समयमा एक कार्यक्रममा प्रस्तोताले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर शरीरिक बनावटमाथि प्रश्न उठाएपछि उनले प्रहरी कार्यालयदेखि फिल्म सम्बन्धि विभिन्न संघ–संस्थाहरुमा पुगेर कारवाहीको माग गर्दै ‘ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्दैन, बोली नै काफी हुन्छ’ भन्दै गहन अभिव्यक्ति दिएकी थिइन् । त्यसबेला उनको पक्षमा सिंगो फिल्म क्षेत्र उभिएको थियो ।
यतिबेला, उनै पूजाले बलात्कारको आरोप लागेका नायक पल शाहको बचाउमा उत्रिएर बलात्कारको परिभाषा नै नबुझेको भन्दै यूट्युबहरुमा अन्तर्वार्ता दिइन्। मंगलवार फिल्म ‘म यस्तो गीत गाउँछु २’ बारे बुझ्न राजधानीका विभिन्न हलहरु पुग्ने क्रममा उनले पललाई निर्दोष देखाउँदै भनेकी थिइन्, ‘कुन र केलाई बलात्कार भन्छ, मैले बुझ्नै सकेको छैन । अब बल्ल बुझ्दैछु ।’
उनले पलविरुद्ध जाहेरी दिएकी नाबालिगको चरित्रमाथि पनि प्रश्न उठाएकी थिइन् । नाबालिगले त्यस्तो (शारीरिक सम्बन्ध) गर्नुअघि आफ्नो उमेरको बारेमा सोच्नुपर्ने तर्क राख्दै पलले कपडा च्यातेर जबर्जस्ती गरेको भन्ने कुरा आफूले पत्याउन नसकेको बताएकी थिइन् । उनको यो अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भयो । धेरैले उनको चेतनास्तरमाथि प्रश्न उठाए ।
आफ्नो अभिव्यक्ति आफैंलाई भारी परेपछि बिहीवार उनले पोखरामा पत्रकार भेटघाटको क्रममा उनले आफ्नो बोली सच्याइन् । उनले कानुनका बुँदाहरुको बारेमा आफू अपडेट नभइसकेको बताउँदै आफूले अझै बुझ्न आवश्यक रहेको बताइन् । तर, आफ्नो भनाईको आशय गलत नभएपनि हलहरुमा जाने क्रममा प्रेसर (तनाव) ले गर्दा बोलीमा तलमाथि भएको हुनसक्ने उनको भनाइ थियो ।
उनले भनेकी थिइन्, ‘मैले पढ्दै आएको र समाजमा देख्दै आइरहेको चिजहरुसँग कानुनको बुँदाहरु हेर्दा अझै धेरै चिजहरु बुझ्न र अपडेट हुन बाँकी रहेछ भनेर राम्रो हिसाबमा भनेको थिएँ । यो कुरामा अझै ज्ञान लिनुपर्ने रहेछ, मैले अझै बुझेको रहेनछु भन्ने मेरो आशय थियो । म हल–हलमा जाँदा रसमा थिएँ, त्यसैले छोटो कुरा बोल्दा कुन चाहिँ हिसाबले बोलेको हो भन्ने धेरैलाई लाग्न गएछ ।’
आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनालाई भने उनले सकारात्मक रुपमा लिएको उल्लेख गरिन् । ‘मैले भनेको कुरालाई कसरी बुझ्ने र लिने भन्ने आ–आफ्नो सोचाइ हो । सही वा गलत भन्न पाउने अधिकार सबैलाई छ । मैले मात्र कानुनमा हुने परिवर्तनबारे सबै अपडेट हुनुपर्ने रहेछ र म आफू पनि अपडेट नभएकाले बलात्कारको परिभाषा नबुझेको भनेर भनेको थिएँ,’ उनले स्पष्ट पारेकी थिइन् ।