भारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले युक्रेनमा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चेतावनी दिएका छन्।
भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र भुटानले चीनसँग हिमचिम बढाएमा उनीहरूको अवस्था पनि अहिलेको युक्रेनको भन्दा फरक नहुने धम्की दिएका हुन्।
उनले नेपाल र भुटानजस्ता साना छिमेकी राष्ट्रले भारतसँग भाइचाराको सम्बन्धमा आँच आउने काम गरेमा अहिले रुसले युक्रेनलाई जुन हालतमा पुर्याइदिएको छ, भारतले पनि उनीहरूलाई त्यस्तै बनाइदिने चेतावनी दिएका छन्।
आजतककी पत्रकारले छिमेकी मित्रराष्ट्रहरूलाई धम्कीको भाषा बोलेर विश्वासमा लिन नसकिने प्रसंग उठाउँदा पनि उनले एकोहोरो नेपाल र भुटानको नाम लिँदै युक्रेन बनाइदिने धम्की दिएको उक्त टक शोको सानो अंशमा सुन्न सकिन्छ।