पोखरा । पोखरा महानगरपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको आज ७८ वर्षको उमेरमा निधन भएको शोकमा महानगरले एक दिन बिदा दिएको हो । सोमबार पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू शोक विदाको रूपमा बन्द रहने छन ।
शेरचनले विसं २०३२ देखि २०३८ सालसम्म पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएर काम गरेको महानगरले जनाएको छ । उनको उपचारका क्रममा आज निधन भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका शेरचन मधुमेह र मिर्गौलाको समस्याबाट पीडित थिए। काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए। उनी कास्कीबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य पनि हुन्। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन वाणिज्य सहायक मन्त्री भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
पोखराको अर्चलबोटका स्थायी बासिन्दा शेरचन प्रगतिशील विद्यार्थीका तर्फबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए। शेरचनले २०२७-२०२८ सालमा आह्वान साप्ताहिक प्रकाशन-सम्पादन गरेका थिए। पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल शेरचन पत्रकारिताका अलावा साहित्यमा पनि सक्रिय रहेको सुनाउँछन्। ‘पोखराका पत्रकारले भुलेका व्यक्ति हुन्।
उनले निष्ठाको राजनीति गरे। छलछाम गरेनन्। जहिलेदेखि पञ्चायतमा लागे निरन्तर लागे,’ पौडेलले भने, ‘राजनीतिमा लागेर सम्पत्ति कमाएनन्। सधै स्पष्ट कुरा राखे। विद्यार्थी जीवनमा प्रगतिशील विचार राखेका कारण पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सभापति जिते।’ कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालमा महामन्त्रीसमेत रहेका शेरचन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सुदूर पश्चिमाञ्चलको क्षेत्रीय प्रशासक भएका थिए। शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी छन्।