• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विराटनगरमा एक रात बस्ने राष्ट्रपतिको चाहना, सुरक्षा प्रोटोकलमा समस्या

Bydeep

Mar 7, 2022

राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो ।

दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिबाट के गर्न खोजिएको होला भन्ने थप शंका पराजुलीको मनमा उब्जियो ।

तर, यो बोलावट कुनै राजनीतिक विषयमा केन्द्रित थिएन । विद्यार्थीकालदेखि विराटनगरसँग साइनो जोडिएको हुनाले यहाँ एकरात बस्ने राष्ट्रपति भण्डारीका चाहना रहेछ । यही कारण राष्ट्रपति भण्डारीले मेयर पराजुलीसँग विराटनगर क्याम्पसमा एक कार्यक्रम गर्ने अनि एकरात यसै बास बस्ने चाहना राखिन् ।

तर, सुरक्षा प्रोटोकलका कारण आफू बिराटनगरमा बस्न नपाउने र इटहरीस्थित सेनाको ब्यारेकमा बस्नुपर्ने बाध्यता सुनाइन् । मेयर पराजुलीसँगको दुई घण्टा लामो कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले विद्यार्थीकालमा विराटनगरमा बसेको, महेन्द्र मोरङ क्याम्पसमा राजनीति गरेको अनुभव सुनाइकी थिइन् । राष्ट्रपति भण्डारीले पराजुलीसँग भनिन्, ‘विराटनगरमा एकरात बस्ने मेरो इच्छा छ, तर, सुरक्षा प्रोटोकलले होटलमा दिँदैन र इटहरी लगिहाल्छन् ।’

राष्ट्रपति भण्डारीले सो सन्दर्भमा चिनेजानेका यहाँका अग्रज तथा दांैतरीहरुसँग अनौपचारिक भलाकुसारी गर्ने इच्छा राखेकी थिइन् । ‘विराटनगर बसेर तामझामवाला कार्यक्रम गर्नेभन्दा पनि अनौपचारिक हिसावले गफगाफ गर्ने राष्ट्रपतिको चाहना छ,’ स्रोतले भन्यो । त्यसक्रममा राष्ट्रपतिले आफू पढेको कलेजलाई केही सहयोग गर्ने चाहनासमेत राखेकी थिइन् ।

राष्ट्रपतिले विराटनगर आउने चाहना राखेको कुरा प्रष्ट पार्दै विराटनगरका प्रमुख भीम पराजुलीले सोही अनुसारको कार्यक्रमको तयारी गरिरहेको रातोपाटीलाई बताए । ‘विराटनगरमा एउटा प्रोग्राम राख्ने कुरा भइरहेको छ । महेन्द्र मोरङको प्राज्ञिक व्यक्तिहरु, स्ववियुका पूर्वसभापतिहरू, पदाधिकारीहरूसहितको कार्यक्रम राख्ने र उपयुक्त समयमा राष्ट्रपतिलाई बोलाउने तयारीमा छौं ।’

भीआइपी बस्ने ठाउँ

विराटनगरमा सुरक्षा प्रोटोकलको नाममा नेपाली सेनाले राष्ट्र प्रमुखलाई बस्न नदिने गरेको स्रोतको भनाइ छ । तर, यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादव एक रात जैन भवनमा बसेका थिए । राजाहरुको सवारीमा भने उनीहरु इटहरी ब्यारेकमै बस्ने प्रचलन थियो ।

त्यसो त कतिपय प्रधानमन्त्रीहरु विराटनगर आउँदा हाटखोलास्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्ने गरेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने विराटनगर आउँदा आफ्नै घरमा बस्थे । तथापि राष्ट्रपति भण्डारीलाई सुरक्षा र प्रोटोकलका कारण विराटनगरमा कहाँ बास बसाउने भन्ने समस्या देखिएको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीले राष्ट्रपतिलाई विराटनगरमा बस्न कुनै सुरक्षा चुनौति नरहेको बताए । ‘उहाँलाई त्यसखालको व्यवस्थापन गर्न सकिन्छ, सुरक्षा संयन्त्रले विराटनगरमा व्यवस्थापन गरौं भन्ने निर्णय गर्यो भने त्यसको लागि हाम्रो संयन्त्र तयार छ,’ बीसीले रातोपाटीसँग भने ।

राष्ट्रपति भण्डारीको विराटनगरसँगको साइनो

राष्ट्रपति विद्यादेवी भण्डारीको विराटनगरसँग विशेष साइनो छ । उनले महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरेकी हुन् । उनी महेन्द्र मोरङको स्ववियु निर्वाचनमा कोषाध्यक्षसमेत निर्वाचित भएकी थिइन् । उनले पञ्चायत विरोधी आन्दोलनको बेलामा पटक–पटक विराटनगरमा सुरक्षा निकायको पिटाइ खाएकी थिइन् भने गिरफ्तारीमा समेत परेकी थिइन् । उनी विराटनगरमै रहँदा आठ वर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र–सङ्गठनको नेतृत्वमा रहेकी थिइन् ।

उनको विराटनगरसँग साइनो रहनुमा महेन्द्र मोरङ क्याम्पस मात्रै होइन । उनका श्रीमान मदन भण्डारीसँग पनि विराटनगरमै भेट भएर विवाह भएको हो । भण्डारीको विवाह २०३९ सालमा कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । उनको विवाह महेन्द्र मोरङ क्याम्पसको दक्षिणमा रहेको एक घरमा अशोक राईको पहलमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *