• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भारतीय पक्षले दार्चुलाको नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएपछि ढुङ्गा हानाहान

ByDeayam

Mar 8, 2022

दार्चुलाको सदरमुकामस्थित महाकाली नदी क्षेत्रमा भारतीय पक्षले नेपालको क्षेत्रमा स्काभेटर चलाएपछि नेपाल र भारतका स्थानीयबीच ढुंगा हानाहान भएको छ।

भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद शुरु भएको थियो। दार्चुला प्रशासनसँग समन्वय नै नगरी भारतले एकपक्षीय तरिकाले महाकालीमा स्काभेटर चलाएर धार परिवर्तन गरेपछि दुवै देशका नागरिकबीच ढुंगा हानाहान भएको हो।

महाकालीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गरिरहेको उनले बताए। नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाइ छ।

ढुंगा हानाहानपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरबितर गरिएको थियो। ‘अहिले ढुंगामुढा र विरोध रोकिएको छ। उनीहरूले स्काभेटर फिर्ता लगेका छन्,’ प्रजिअ उपाध्यायले भने, ‘हामीले समन्वय गरेर मात्र काम गर्न भनेका छौँ। नेपालको भूमिमा स्काभेटर नचलाउनसमेत जानकारी गराएका छौ।’

भारतीय पक्षले बाँधेको पुरानो तटबन्धसँगै महाकालीमा नेपालतर्फ ८ देखि १० मिटर चौडा र १० मिटर अग्लो तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणसँगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्।

‘महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन्। वर्षात्‌मा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ,’ महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भने, ‘अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ।’

अन्तरराष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन। तर, दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको धार परिवर्तन हुने किसिमले आफूखुशी पक्की तटबन्ध निर्माण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *