काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार केन्द्रीय कमिटी बैठकमा ९७ जना केन्द्रीय सदस्यको सूची प्रस्ताव गरे। उक्त सूचीमा उनले आफ्नै छोरी र ज्वाइँको नामसमेत समावेश गरेका थिए। छोरी गंगा दाहाल खसआर्य महिलाअन्तर्गत बागमतीबाट समेटिएकी थिइन् भने ज्वाइँ जीवन आचार्य खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट समेटिएका थिए। छोरी ज्वाइँलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि प्रचण्डको विरोधमा टीकाटीप्पणी भएको थियो। तर अन्तिम समयमा छोरी र ज्वाइँ केन्द्रीय कमिटीमा अटाएनन्।
निर्वाचनको मुखमा आफ्नै मान्छेहरुलाई केन्द्रीय कमिटीमा ल्याउँदा पार्टीलाई क्षति पुग्ने भन्दै केन्द्रीय नेताहरुले नै विरोध गरेपछि ४७ जनाको नाम हाललाई हटाइएको एक केन्द्रीय सदस्यले बताए। बाँकी ४७ जना निर्वाचनपछि जेठ २० गते बस्ने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताइएको छ।
कूल ३४४ सदस्यीय केन्द्रीय समितिमा ५० जना मनोनीत गरेसँगै २९७ सदस्य पुगेको छ। अझै ४७ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। आठौं महाधिवेशनबाट २४७ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो।