युक्रेनमा जारी रुसी सैन्य कारबाहीबीच बेलायतले किभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रिटले सोमबार जनाएको छ। उसले थप सय मिलियन डलर कोषले २२ हजार सैनिकलाई प्रशिक्षण दिने, दुई हजार ट्यांकविरोधी क्षेप्यास्त्रहरू आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि सय मिलियन युरो उपलब्ध गराउनेलगायातका घोषणा गरेको बताइएको छ।
‘स्वतन्त्रता र विपत् आपतकालीन समिति (डिइसी)को अपिलमा २५ मिलियन युरो म्याच कोषसहित एक सय २० मिलियन युरो मानवीय सहायता प्रदान गर्ने,’ डाउनिङ स्ट्रिटले बताएको छ। बेलायती सरकारका अनुसार नयाँ अनुदान सार्वजनिक क्षेत्र र समर्थन गर्न प्रयोग गर्न सकिनेछ। उक्त सहयोग विश्व बैंकमार्फत उपलब्ध गराइनेछ।
यसैबीच, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतबार कंग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १० अर्ब अमेरिकी डलर दिने घोषणा गरेकी छिन्। डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपिआर र एलपिआर)ले किभ सेनाहरूविरुद्ध आफूलाई बचाउन मद्दतका लागि अपिल गरेपछि फेब्रुअरी २४ मा रुसले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ सुरु गरेको हो।
रुसले आफ्नाे विशेष अपरेसनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु भन्दै सैन्य पूर्वाधारलाई मात्र लक्षित गरिएको जनाएको छ। मस्कोले बारम्बार जोड दिँदै आएको छ कि युक्रेन कब्जा गर्ने उसको कुनै योजना छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, ‘जो आठ वर्षदेखि किभ शासनको दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।’
रुसको अपरेसनको प्रतिक्रियामा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रुसी अधिकारीहरू र संस्थाहरू, मिडिया र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने, हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन्। रासस/एएनआई