काठमाडौं। अमेरिका र पश्चिमी देशहरुले रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन् । पश्चिमी देशले तेल आयात रोक्ने तयारी गरेपछि रुसले पनि युरोपमा ग्यास आपूर्ति ठप्प पारिदिने चेतावनी दिइसकेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअभि ९२ डलर प्रतिब्यारल रहेको कच्चा तेलको मूल्य रुसी तेलमा प्रतिबन्ध लगाइए ३०० डलर प्रतिब्यारलसम्म पुग्ने रुसले चेतावनी दिइसकेको छ ।
रुस कच्चा तेलको सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक हो । रुसले प्रतिदिन ७०० मिलियन ब्यारल क्रुड निर्यात गर्छ जुन विश्व बजारमा खपत हुने तेलको ७ प्रतिशत हो । रुसको तेल नहुँदा विश्व बजारमा यसै पनि तेलको अभाव हुने निश्चित छ । यही बीचमा अर्को ठूलो तेल निर्यातक देश इरानबाट पनि तेल आपूर्ति रोकिने जोखिम बढेको छ । इरानको विश्व शक्तिहरुसँग २०१५ को परमाणु सम्झौता बचाउनको लागि ११ महिनादेखि चलिरहेको वार्ता युक्रेन संकटका कारण अवरुद्ध भएसँगै इरानी तेल पनि रोकिने र विश्व बजारमा हाहाकार हुन सक्ने जोखिम बढेको हो ।
अहिले इरान र विश्व शक्तिबीच वार्ता हुनुपर्ने थियो तर युरोपेली संघले यस विषयमा निर्णय लिनको लागि थप समय मागेको छ । यससँगै वार्ताका लागि अष्ट्रियाको भियना पुगेका इरानी वार्ताकार अली बघेरी पनि फर्किएर तेहरान गएका छन् । वार्ताको जिम्मेवारी लिइरहेका युरोपेली संघका शीर्ष राजदूत एनरिक मोराको ट्वीटले पनि स्पष्ट पारिसकेको छ कि अहिले विशेयाज्ञ तहको वार्ता हुन सक्दैन । अहिले कुनै औपचारिक बैठक भइरहेको छैन र अबको केही दिनमा भियना वार्ता अन्त्य गर्ने निर्णय हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मोराको ट्वीट इरानको तर्फबाट मुख्य वार्ताकार अली बघेरी विचार विमर्शका लागि भियनाबाट फर्केर तेहरान गर्एपछि आएको हो । इरानी मिडियामा पनि अब भियना वार्तामा विशेषज्ञ सहभागी हुने समाचार आएका छन् । उता वाशिङटनमा ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले रिपोर्टरहरुसँग कुरा गर्दै अमेरिका र उसका सहयोगी देश इरानसँग परमाणु सम्झौताको ‘नजिक’ पुगेको तर अझै पनि केही ‘महत्वपूर्ण विषय’मा निर्णय लिन बाँकी भएको बताएकी छिन् ।
यदि यो वार्ता विफल भयो भने पश्चिमी देशले इरानमाथि अझै कठोर प्रतिबन्ध लगाउन सक्छन् । यसको परिणामस्वरुप युक्रेन संकटका कारण पहिल्यै बढेको तेलको मूल्य अझै बढ्न सक्छ किनकि प्रतिबन्धको अवस्थामा इरानी तेलको आपूर्ति पनि रोकिन सक्छ । अर्थात अहिले नै तेलको मूल्यमा आगो लागिसकेको छ र इरानसँगको वार्ता विफल भए त्यो आगोमा घिउ थपिनेछ । फ्रान्स, बेलायत र जर्मनीको तर्फबाट युरोपेली वार्ताकारयो वार्ताबाट पहिले नै अस्थायी रुपमा अलग्गिइसकेका छन् । उनीहरुले आफूहरुको भूमिका सकिएको र अब मुख्य पक्षले आपसी मुद्दा सुल्झउनुपर्ने बताएका छन् ।
वार्ता सम्झौताको नजिक पुगेको भनिए पनि केही दिन अघिमात्र रुसको भनाइले यो वार्ता झनै अल्झिएको छ । केही दिनअघि रुसका विदेशमन्त्री सर्गेइ लावरोभले युक्रेनमा आक्रमणका कारण रुसमाथि लगाइएका प्रतिबन्धको असर इरानसँग रुसको व्यापार, लगानी र सैन्य प्रविधि सहयोगमा नपर्ने अमेरिकाले ग्यारेन्टी दिनुपर्ने बताएका थिए । सोमबार लावरोभले इरानी विदेशमन्त्री हुसैन आमिरअब्दोल्लाहियांसँग फोन वार्ता गरेर पनि नयाँ परमाणु सम्झौतामा कुनै पनि सदस्यमाथि भेदभाव हुन नहुने कुरामा जोड दिएका छन् ।