• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आयल निगमकाे मासिक घाटा १० अर्ब रुपैयाँसम्म पुग्न सक्छ

ByAgrim Post

Mar 9, 2022

काठमाण्डाै – अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँसम्म घाटामा जान सक्ने नेपाल आयल निगमले बताएको छ । रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य अत्यधिक बढ्दै गएकाले प्रेट्रोलियम पदार्थकाे मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ ।

निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा दुई अर्ब रुपैयाँ घाटा र महिनाको पाँच अर्ब रुपैयाँ घाटामा पुगेको अवस्था रहेको जनाएकाे छ ।

आज बुधवार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा निगमसँग गरेको छलफलमा बोल्दै नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने बताउनुभयो । उहाँले अब निगम घाटामा जाने कुरा मात्रै नभएर आउँदा दिन पेट्राेलियम पदार्थ खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढ्दै गएको बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम झन्डै २८ अर्ब रुपैयाँ घाटामा गएको कार्यकारी निर्देशक भट्टराईले समितिलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पुरानो मूल्यअनुसार साउनदेखि फागुन महिनासम्म निगम झन्डै २८ अर्ब रुपैयाँ घाटामा गइसकेकाे छौँ । एलपीजी (खाना पकाउने ग्यास) मा अहिले प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ घाटा रहेको छ । १५ दिनमा डिजलमा एक अर्ब, पेट्रोलमा ७५ करोड र एलपीजीमा एक अर्ब २६ करोड रुपैयाँ नोक्सान छ । १५ दिनमा अन्तर्राष्ट्रिय हवाई इन्धनमा २४ करोड रुपैयाँ नाफा रहेको छ । राष्ट्रिय हवाई इन्धनमा ६ करोड रुपैयाँ नाफा छ । निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत मौज्दात रहेको छ । भण्डार क्षमता सात करोड लिटर रहेकोमा साढे पाँच करोड लिटर मौज्दात छ । कति दिन धान्छ भनेर हिसाब गर्न छाडेका छौँ । पेट्रोलिय पदार्थ छैन भनेर आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।’

त्यस्तै कार्यकारी निर्देशक भट्टराईले आयल निगम प्रतिमहिना न्यूनतम दुई अर्ब र बढीमा ६ अर्ब रुपैयाँ ले घाटामा रहेकाले पछिल्लो अवधिमा निगमको सञ्चितिमा रहेको सबै नाफासमेत सकिएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अघिअघि निगम पछिपछि भएकाले अहिले यथास्थितिमा पुगेको दाबी गर्नुभयो ।

त्यस्तै समितिको छलफलमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले मन्त्रालय आयल निगमलाई कसरी बचाएर पेट्रोलिय पदार्थको आपूर्ति गर्ने भन्ने चिन्तामा रहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा आयल निगमलाई बचाउनका लागि सबैको सहयोग माग गर्नुभयो ।

छलफलमा नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले आयल निगमको बूढीगण्डकी बनाउन लिइएको पूर्वाधार कर घटाउनुपर्ने बताउनुभयो । उहाँले सरकारका हरेक अर्थ मन्त्रीले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै विद्युतीय सामग्रीमा भन्सार छुट गर्ने काम मात्रै भएको बताउनुभयो । उहाँले निगम नाफामा भएको बेला पूर्वाधार निर्माणमा रकम लगाउने, बोनस खाने भएकाले पनि अहिले समस्या आएको आरोप लगाउनुभयो । Ujyalooline

Leave a Reply

Your email address will not be published. Required fields are marked *