काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताए । “परिवर्तनको प्रमुख संवाहक माओवादी हो । तर, आक्रमक ढंंगले समाजमा स्थापित गर्न हामीले सकेनौँ । हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न सकेका छैनौँ,” उनले भने ।
उनले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताए । “महत्त्वपूर्ण र क्षमतावान् व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता विश्वभरि छ । हाम्रो पार्टीले त्यसरी आत्मासात् गर्न सकेको छैन, उनले भने, “विधानमा केही संशोधन गरिएको छ । केन्द्रमा प्रतिनिधित्व नयाँ ढंगले गराइन्छ ।”
माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे । उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलको आवश्यक्ता भएको भन्दै उनले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिए । राष्ट्रमा भएका साधन–स्रोतको अधिकतम सदुपयोग गर्न उद्योग, व्यवसायको विकास गर्न जरुरी रहेको उनले बताए ।