• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बच्चासहित विश्वकपमा कप्तानी गर्दै पाकिस्तानकी खेलाडी

ByAgrim Post

Mar 9, 2022

कुनैपनि खेलमा आबद्ध महिला खेलाडीको लागि विवाह कठिन निर्णय हो । विवाहपछि परिवार र श्रीमानबाट साथ नपाए खेल करिअरमा प्रत्यक्ष असर पर्छ । त्यसैले विश्व खेलकुदमा महिला खेलाडीले सक्रिय खेलकुदमा रहँदा विवाह गरेको कमै देखिन्छ, गर्नेले पनि प्राय ढिलो विवाह गरेको देख्न सकिन्छ ।एक खेलाडीको लागि आमा बनेर खेलमा फर्किनु फलामको चिराउ चपाउनु सरह हो । जिम्मेवारी वहनको पाटोसँगै शारीरिक रुपमा पनि मैदान फर्कन निकै मिहिनेत गर्नुपर्छ । विश्व खेलकुदमा आमा बनेपछि मैदान फर्केका खेलाडी धेरै छैनन् ।

कुनैपनि खेलाडीलाई सन्तान, परिवार र आफ्नो खेललाई समय दिन सहज हुँदैन । अर्कोतर्फ आमा बनेपछि शारीरिक रुपमा फिट रहन त्यतिनै चुनौती हुन्छ । सक्रिय खेलाडी जीवनमा कमै खेलाडी विवाह र बच्चापछि खेलमा फर्कन्छन् । तर पाकिस्तानकी कप्तान बिस्माह मारुफले भने विश्व क्रिकेटमा प्रेरणादायी रुपमा फर्किएकी छिन् । ७ महिनाकी बच्चा लिएर न्युजिल्यान्ड पुगकी उनी विश्वकपमा पाकिस्तानको कप्तानी गर्दैछिन् ।न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा पाकिस्तान आइतबार भारतसँग १ सय ७ रनले पराजित भयो । पाकिस्तान र भारतबीचको नतिजाले भन्दा विश्व क्रिकेटमा पाकिस्तानी कप्तान मारुफको चर्चा बढी भयो । महरुफले गत अगष्ट ३० मा छोरी फतिमालाई जन्म दिएकी थिईन् ।

अन्य समयमा पाकिस्तान र भारतको नतिजा विश्व क्रिकेटमै निकै चाखको रुपमा लिइन्छ । किनभने आन्तरिक राजनीतिको कारण यी दुई टोली आइसिसी र एसिसीको प्रमुख प्रतियोगितामा मात्र भिड्ने गर्दछन् । अन्य देशले जसरी यी दुई देशले भने सिरिज खेल्दैनन् ।आइतबार मारुफ ७ महिनाकी छोरीलाई बोकेर न्युजिल्यान्डको बे ओभल माउन्ट माउन्गानुई पुगिन् । साथमा छोरी, क्रिकेट ब्याग र पाकिस्तानको जर्सीमा मैदान प्रवेश गरेको तस्विर प्रेरणादायी थियो ।भारतले पुरै ५० ओभर खेल्दा उनी तीन घण्टा भन्दा बढी समय छोरीलाई ड्रेसिङ रुममा छाडेर देशको नेतृत्व गरिन् । २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४३ ओभरमा १ सय ३७ रनमा अल आउट भए । मारुफ २५ बलमा २ चौकासहित १५ रनमा आउट भइन् । भारतले पुरै ५० ओभर खेलेको थियो ।

सुत्केरी भएको ६ महिनामै उनी मैदान उत्रेकी थिइन् । शारीरिक तौल घटाउँदै खेलकुदमा फर्कन पक्कै सहज थिएन । क्रिकेट प्रतिको माया, त्याग, नशा र देशको प्रतिको जिम्मेवारीले उनी फर्किन सकिन् । उनले २०२० को टि२० विश्वकपदेखि क्रिकेटबाट विश्राम लिएकी थिइन् । अन्तिम खेल २०२० को फेब्रुअरी २८ मा क्यानबेरामा इंग्ल्यान्डविरुद्ध खेलेकी थिइन् । त्यसपछि उनी गत फेब्रुअरी २७ मा न्युजिल्यान्डविरुद्ध वार्मअप खेलबाट पूनरागमन गरेकी थिइन् ।आइतबार खेलपछि भारतीय खेलाडीले मारुफ र फतिमालाई भेटे । फतिमासँग भारतीय खेलाडी मज्जाले रमाए । भारतीय ब्याटर हरप्रित कौर, स्मृति मन्धना, शेफाली वर्मा लगायतका थुप्रै खेलाडीले फतिमासँग रमाउँदै उनलाई मनोरञ्जन प्रदान गर्न हर प्रयास गरे । आमा मारुफ खुसी शब्दमा बयान गर्न सकिँदैन । फतिमासँग भारतीय खेलाडीले सेल्फी लिए ।भारतीय र पाकिस्तानी खेलाडीबीचको आत्मियता जोड्ने काम ७ महिनाकी फतिमाले गरिन् । जुन विश्वभरबाट त्यतिनै प्रंशसा भएको छ । भारतीय खेलाडीले देखाएको ममताको सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । विश्वका महान् क्रिकेटरहरुले खुलेर प्रशंसा गरेका छन् ।

मारुफको २०१८ नोभेम्बरमा अबरार अहमदसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । महरुफले १५ वर्षकै उमेरमा २००६ डिसेम्बरमा भारतविरुद्धनै जयपुरमा पाकिस्तानको लागि डेब्यू गरेकी थिइन् । उनले पाकिस्तानबाट वुमन्स १ सय ९ ओडिआई र वुमन्स १ सय ८ टि२० आई खेल खेली सकेकी थिइन् । ओडिआईमा २ हजार ६ सय १७ रन बनाउनुको साथै ४४ विकेट लिएकी छिन् । डब्लूटि२० आईमा २ हजार २ सय २५ रन बनाउनुको साथै ३६ विकेट लिएकी छिन् ।मारुफ पाकिस्तानको लागि १५ वर्षदेखि खेल्दै आएकी छिन् । कलिलो उमेरमा पाकिस्तानको लागि डेब्यू गरेकी उनले अहिले बच्चा बोकेर देशको कप्तानी गरेकी छिन् । ३० वर्षको उमेरमा कुनैपनि खेलाडी विवाह पनि कल्पना गर्न सक्दैन । तर ७ महिनाको बच्चाकी आमाले विश्वकप खेल्नु कुनै सामान्य कुरा होईन ।आमा बनेपछि खेलाडीले सक्रिय खेलकुदमा फर्कन सक्दैनन् भन्ने मानसिकतालाई चिर्ने यो भन्दा राम्रो उदाहरण र प्रेरणा सायद कमै होला । मारुफले आमा र देश दुबैको जिम्मेवारी निर्वाह गरेकी छिन् । यो क्रिकेट मात्रन भएर विश्व महिला खेलकुदमा एक राम्रो प्रेरणा हो ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

Leave a Reply

Your email address will not be published. Required fields are marked *