• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनी राष्ट्रपतिकी पत्नी, जो पर्दा पछाडि मुख्य भूमिका खेल्दै

Bydeep

Mar 9, 2022

काठमाडौं । युक्रेनमाथि रुसले हमला गरेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई देश छोड्न कथित प्रस्ताव आयो । तर, उनले एक भिडियो सन्देश जारी गरी सिधा जवाफ दिए, “मलाई हतियार चाहिएको छ, सवारी होइन ।” उनकी पत्नी ओलेना जेलेन्स्का र दुई सन्तान साशा र सिरिलले पनि देशमै रहने निर्णय गरे । र, राष्ट्रपति जेलेन्स्कीले उनीपछि उनको परिवार रुसको पहिलो निसानामा हुने बताए । त्यसपछि देशकी प्रथम महिला र जेलेन्स्की पत्नीतर्फ नजर मोडियो । उनको ठेगाना सुरक्षाका कारणले अज्ञात राखिएको छ ।

आफू जहाँ बस्छिन्, त्यहीँबाट जेलेन्स्काले आफ्नो प्रभावको प्रयोग गर्दै देशको हितमा सामाजिक सञ्जालमार्फत कुरा गरिरहेकी छन् । गत हप्ता उनले लेखेकी थिइन्, “आज म न रुनेछु न डराउनेछु । म संयमित र आत्मविश्वासी हुनेछु । मेरा छोराछोरीले मलाई हेरिरहेका छन् । म उनीहरूसँगै हुनेछु । र, मेरो पतिसँग हुनेछु, तपाईंहरूसँग हुनेछु ।”

यसै क्रममा उनले विश्वका अरू प्रथम महिलाका लागि नयाँ सन्देश सम्प्रेषण गरिन् । त्यस सन्देशमा उनले आफूले के गर्न सक्छु भनी बताएकी छन्, “प्रथम महिलाहरूले यस समयमा युक्रेनलाई कसरी मद्दत गर्न सकिन्छ भनेर मलाई सोधिरहेका छन् । मेरो जवाफ हो– संसारलाई सत्य बताउनुहोस् ।” उनले मानवीय सहायता प्रदान गर्न सक्ने व्यक्तिहरूका लागि पनि सन्देश सम्प्रेषण गरेकी छन् । युक्रेनकी ४४ वर्षीय प्रथम महिलाको इन्स्टाग्राममा २० लाख फलोअर्स छन् ।

आर्किटेक्चरको पढाइ छोडेर कमेडीमा
ओलेना जेलेस्न्का क्रिभी रीमा हुर्किइन् । यो मध्य युक्रेनको एउटा सहर हो, जहाँ उनका पति पनि हुर्केका हुन् । दुवैजना एकार्कालाई कलेजको समयदेखि नै चिन्छन्, जहाँ उनी आर्किटेक्चर पढ्दै थिइन् भने उनका पति कानुन । पछि दुवैले आफ्नो कोर्स बदलेर कमेडी अभिनयको अध्ययन गर्न थाले ।

उनी आफ्नो पतिको कम्पनी स्टुडियो क्वार्टल ९५ मा पटकथा लेख्ने गर्थिन् । आठ वर्ष एकार्कासँग ‘डेट’ गरेपछि सन् २००३ मा विवाह गरेका थिए । एक वर्षपछि दुवैको पहिलो सन्तानका रूपमा छोरीको जन्म भयो । २०१३ मा छोरा जन्मिए । राजनीति जेलेन्स्काको योजनामा थिएन । तर, २०१९ अप्रिलमा उनका पति ले ७३ प्रतिशत मतका साथ ऐतिहासिक जित हासिल गरे । र, उनी युक्रेनको राष्ट्रपति भवन पुगिन् ।

चुनावका बेला उनले आफ्नो पतिका लागि सामाजिक सञ्जालमार्फत सिर्जना गरेको माहोलका कारण यो सम्भव भएको उनको बुझाइ छ । राष्ट्रपति जेलेन्स्की उनकी पत्नीले उनलाई यो समयमा धेरै साथ दिएको बताउँछन् ।

पर्दा पछाडि
उनी आफूलाई ‘लो प्रोफाइल’मा राख्छिन् । संकटबीचमा देशका नागरिकलाई मद्दत गर्न र प्रोत्साहन गर्न सामाजिक सञ्जालको शक्तिलाई सुदृढ गर्दै छिन् । यिनै विशेषताका कारण सन् २०१९ मा फोकस पत्रिकाले उनलाई सबैभन्दा प्रभावशाली १०० युक्रेनी व्यक्तिको सूचीमा समावेश गरेको थियो । योसँगै उनी भोग म्यागाजिनको स्थानीय संस्करणको कभरमा देखापरेकी छन् । यस क्रममा २०१९ मा उनले पहिलो महिला हुँदा आफ्ना उद्देश्यहरूका बारेमा बताइन् ।

उनले देशमा राजनीतिक जीवनमा प्रवेश गरेपछि आफ्नो जीवनमा आएको परिवर्तनको बारेमा पनि बताएकी थिइन् । उनले भनेकी थिइन्, “प्रचार वा सञ्चारमाध्यमसँगको कुराकानी धेरै तनावपूर्ण हुन्छ भनेर म भन्न सक्दिनँ । तर, म पर्दा पछाडि बस्न रुचाउँछु । मेरा पति सधैँ अगाडि हुनुहुन्छ र उहाँको छाया पछाडि सहज महसुस गर्छु ।”

उनले थप भनेकी थिइन्, “म पार्टीवाला मान्छे होइन, मलाई ठट्टा गर्न मन लाग्दैन । यो मेरो चरित्रमा छैन । तर, प्रचारको पक्षमा मैले आफ्नै कारणहरू फेला पारेँ । तीमध्ये एउटा महत्त्वपूर्ण सामाजिक मुद्दाहरूमा जनताको ध्यानाकर्षण गराउनु थियो ।” यी सबैबीचमा उनले घरेलु हिंसा, बालपोषण र पाराओलम्पिकका लागि समर्थनजस्ता मद्दाहरूविरुद्ध लड्ने निर्णय गरिन् । बीबीसी हिन्दीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *