• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सरकारलाई दिएको समर्थनलाई कायम राख्ने जनमोर्चाको निर्णय

Bydeep

Mar 9, 2022

राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएपनि जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

फागुन २३ गते बसेको जनमोर्चा केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको निर्माण केपी ओलीले लादेको प्रतिगमन विरुद्धको संघर्षको सफलताको परिणाम भएको थियो । अहिले पनि प्रतिगमन विरुद्धको संघर्षको आवश्यकता र औचित्य कायमै छ ।

त्यसैले प्रतिगमन विरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसबाट देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएकोले देशको राजनीतिलाई गलत दिशामा जान नदिनका लागि वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने निर्णय भएको छ । त्यो नीति प्रदेश सरकारहरुको हकमा पनि कायम रहने छ ।’

तर सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन खेलेको भूमिका र सरकारका विभिन्न गलत काम कारवाहीको भण्डाफोर तथा विरोध भने कायमै रहने जनमोर्चाको भनाइ छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न सकिने पनि जनमोर्चाले जनाएको छ । एमाले र राजावादी शक्तिहरूसँग भने पार्टीको कुनै प्रकारको चुनावी तालमेल नहुने जनमोर्चाले विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *