• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सुधार केन्द्रबाट भागेका युवा खोलामा मृत फेला

ByAgrim Post

Mar 9, 2022

विराटनगर : विराटनगर महानगरपालिका–२ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रबाट भागेका एक युवा बुधबार दिउँसो सिंघिया खोलामा मृत फेला परेका छन्। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१६ घर भएका २५ वर्षिय दिलेन्द्र परियार मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको सीमा भएर बग्ने खोलाको दहमा मृत फेला परेका हुन्।

सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले दहबाट परियारको शव बाहिर निकालेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।
परियारसहित सुधार केन्द्रबाट मंगलबार अपरान्ह ४:३० बजेतिर ४ जना युवा फरार बनेका थिए। भागेकामध्ये धरान–१६ का निशान धमलालाई भाग्दाभाग्दै प्रहरी र सुधार केन्द्रको टोलीले नियन्त्रणमा लिएको थियो। विराटनगरका दिनेश बस्नेत र रोहित कामत परिवारको सम्पर्कमा पुगिसकेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

उनका अनुसार चारै जना सुधार केन्द्रको मुल गेटबाटै भागेको पाइएको छ। भाग्ने क्रममा परियार सिंघिया खोलामा हामफालेर बेपत्ता बनेका थिए। दहमा हामफालेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागुऔषधका दुव्र्यसनी चारै जनालाई परिवारका सदस्यले सुधारका लागि एक महिनाबीचमा सुधार केन्द्रको जिम्मा लगाएको पाइएको छ।

परिवारका सदस्य र आफन्तले मृत फेला परेका परियारको शव बुझ्न अस्वीकार गरेका छन्। सम्झाईबुझाई गरेर शव भने पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको एसपी जीसीको भनाइ छ। बुवा दिलिपकुमार परियारले सुधार केन्द्रको लापरबाहीले घटना भएको बताए। सुधारका लागि तीन महिने कोर्षको एकमुष्ट ६० हजार रूपैयाँ बुझाउने सर्तमा २४ दिनअघि छोरोलाई सुधार केन्द्रको जिम्मा लगाएको जानकारी उनले दिए। ‘आन्तरिक सुरक्षा कमजोर हुँदा सुधार केन्द्रलाई जिम्मा लगाइएको छोरो नै गुमाउनु पर्यो,’ दिलिपले भने, ‘सुधार केन्द्रबाट दिउँसै छोरो भागे पनि परिवारलाई ढिलो मात्रै जानकारी गराइयो।’

सुधार्ने बाचा गरेर लगेको छोरो सुधार केन्द्रबाट जीवितकै घर फर्काउन नसकिएको गुनासो गर्दै उनले घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्। लागुऔषधको दुव्र्यसनमा फसेकालाई सुधार गरेर पुरानै अवस्थामा फर्काउनेजस्तो ठूलो जिम्मेवारी लिएर चलाइएको सुधार केन्द्रमा चरम लापरबाही रहेको उनको गुनासो छ।

भागेकासहित १८ जना दुव्र्यसनीलाई सुधार केन्द्रमा राखिएको थियो। केन्द्रले निश्चित रकम लिएर लागुऔषधको लतमा फसेकालाई सुरक्षा र रेखदेख गर्दै दुव्र्यसनमुक्त बनाउने बाचासहित परिवारबाट जिम्मा लिएको हुन्छ। सुधार केन्द्रले दुव्र्यसनीको रेखदेखका लागि केही युवालाई राखेको थियो। उनीहरुले वास्ता नगर्दा घटना भएको पाइएको प्रहरीको भनाइ छ। एसपी जीसीले घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान थालिएको जानकारी दिए। सुधार केन्द्रका अध्यक्ष सञ्जिव खड्काले भने घटनाका बारेमा केही पनि बताउन चाहेनन्। अन्नपुर्ण पोष्ट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *