युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रसुति तथा बाल अस्पतालमा भएको रुसी आक्रमण युद्ध अपराध रहेको बताएका छन् । बुधबार रुसले मारिपोलको अस्पतालमा हवाई आक्रमण गरेको हो । आक्रमणमा अस्पतालका कर्मचारी तथा बिरामी गरी कम्तीमा १७ जना घाइते भएका छन् । जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा अस्पतालमा भएको आक्रमण कुनै पनि बहानामा स्वीकार गर्न नसकिने र त्यो युद्ध अपराध रहेको बताएका हुन् । उनले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् ।
जेलेन्स्कीले सम्बोधनमा भनेका छन्, ‘यो कस्तो देश हो–रुस, जो अस्पताल, प्रसुति अस्पतालबाट डराउँछ र तिनीहरुलाई ध्वस्त पार्छ?’ राष्ट्रपति जेलेन्स्कीले किएभबाट भिडियो मार्फत सन्देश जारी गरेका हुन् । उनले भनेका छन्, ‘के प्रसुति अस्पतालमा कसैले रुसी भाषीलाई दुर्व्यवहार गरेको थियो? के थियो त्यो (आक्रमण)? के यो अस्पतालको डिनाजिफिकेशन हो?’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरिएको आक्रमणलाई ‘डिनाजिफिकेशन’ भन्दै आएका छन् । जेलेन्स्कीले अस्पताललाई निशाना बनाएको प्रति अघि भनेका छन्, ‘यो अत्याचार भन्दा पनि हत बढी हो । मारिपोलमा आक्रमणकारीले जे गरिरहेका छन् त्यो अत्याचारको हद भन्दा निकै पर छ ।’
रुसले गरेको युद्ध अपराधको एकजुट भएर विरोध गर्नु पर्ने उनले बताएका छन् । अस्पतालमा गरेको आक्रमणले रुसले युक्रेनी भूमिमा ल्याएको सम्पूर्ण खराबीको प्रतिनिधित्व गर्ने जेलेन्स्कीले बताएका छन् । अस्पतालमा भएको आक्रमण युक्रेनमा आम हत्या भइरहेको छ भन्ने कुराको अन्तिम प्रमाण रहेको उनले बताए ।
भिडियो सम्बोधनमा जेलेन्स्कीले युरोपियनहरुलाई युक्रेनको सहयोगमा थप गर्न आफ्ना सरकारलाई दबाब दिन अपिल गरेका छन् । उनले भनेका छन्, ‘युरोपियन, युक्रेनमा जे भइरहेको त्यो देखेको छैन भन्न सक्ने छैनौ, मारिपोलका बासिन्दामाथि के भयो त्यो देखिएको छ । र तपाईँहरुले जान्नु पनि भएको छ ।’ उनले पश्चिमा राष्ट्रहरुलाई रुसमाथिको प्रतिबन्ध थप बढाउन र वार्ताका लागि दबाब दिन भनेका छन् । युद्ध अन्त्य गर्नका लागि पश्चिमा राष्ट्रले रुसलाई दबाब दिनुको विकल्प नरहेको उनले उल्लेख गरेका हुन् ।