काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहका चुनावमा वर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्ज पुगेका प्रधानमन्त्री देउवाले स्थानीयदेखि केन्द्रसम्म तीन तहका चुनावमा तालमेलका लागि सत्तासाझेदार दलहरूभित्र छलफल हुने बताए । उनले गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए ।
“साथीहरूले बोली, व्यवहारबाट गठबन्धनका साथीहरूलाई कुनै पनि किसिमको चिसो पर्नेदेखि लिएर बेवास्ता गर्ने कुरा छैन । हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,” उनले भने, “तपाईंहरूलाई थाहा छ, हामी एक्लै चुनाव लड्दा अवस्था कस्तो थियो । हामी हारेका थियौँ । अहिले गठबन्धनको सरकार भएको कारणले मिलेर चुनाव लडे स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन हामी सक्छौँ ।”
सम्बोधनका क्रममा देउवाले कुनै न कुनै दलसँग कांग्रेसले सहकार्य गरेर जानुपर्ने बताए । “संविधानानुसार कुनै पनि पार्टीले एक्लो बहुमत ल्याउन सक्दैन । कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसकारण गठबन्धनमा भएका दलहरूलाई विनाकाम चिढ्याउने काम नगरौँ,” उनले भने ।
प्रधानमन्त्री देउवाले गठबन्धनले सहयोग गरेपछि मात्र आफू प्रधानमन्त्री बनेको बताए । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उनले उल्लेख गरे ।
“वास्तवमा म प्रधानमन्त्री हुन चाहेकै थिइनँ यसपालि । सबै गठबन्धनका साथीहरू माओवादी भयो, हाम्रो नेपालजी भए, मधेसका पार्टीहरू सबैले सहयोग गरेर म प्रधामन्त्री भएको हुँ,” उनले भने, “अहिले परिस्थिति बदलिएको छ । डर, त्रास हटेको छ । लेख्ने, बोल्ने स्वतन्त्रता प्राप्त छ । लोकतन्त्र जोगाउन गठबन्धनका साथीरूले सहयोग गरिदिए । मलाई सबैले सहयोग र स्वीकार गरेर प्रधानमन्त्री बनेको हो ।” आफू प्रधानमन्त्री हुनुपूर्व र भइसकेपश्चात् देशको अवस्था फरक भइसकेको उनको भनाइ छ ।