नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आउँदाे स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने बताउनुभएको छ । आज बिहीवार केन्द्रीय कमिटीको तेस्रो बैठककाे बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने उसैलाई घाटा हुन सक्ने बताउनुभयो ।
नेता तुलाधरले भन्नुभयो, ‘कांग्रेसले चाहेन भने उबाहेकको गठबन्धन बन्न पनि सक्छ । यसले कांग्रेसलाई घाटा पनि हुन सक्छ । गठबन्धन पाँच दललाई नै आवश्यक छ, नेपाली कांग्रेसका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ । स्थानीय चुनावमात्रै नभइ प्रदेश र सङ्घीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक छ ।’
नेता तुलाधरले स्थानीय तहको चुनावमा नेपाली कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरूको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताउनुभयो । उहाँले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरूले आउँदाे चुनावमा आफ्नो पल्लाभारी गर्नका लागि कांग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाउनुभयो । नेता तुलाधरले नेपाली कांग्रेसका सभापति एवम् शीर्ष नेताहरू भने गठबन्धनसहित आउँदाे चुनावमा जाने पक्षमा रहेको बताउनुभयो ।
नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि पाँच हजार जनाको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताउनुभयो ।