• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

धमाधम पक्राउ पर्दै युट्युबर

Bydeep

Mar 10, 2022

उच्छृंखल भिडियो पोस्ट गर्ने दुईजना युट्युबरलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको छ। ब्युरोले जनाएअनुसार ‘मिडिया नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार (हरि उदासी) र ‘विशाल नेपाल’ युट्युब च्यानलका राइनास नगरपालिका–३ का २७ वर्षीय निशासन चिलवाललाई पक्राउ गरेको हो।

उनीहरूमाथि युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्नेगरी भिडियो प्रसारण गरेको र भिडियोमार्फत पीडितको चरित्र हत्या गरेको आरोप रहेको ब्युरोले जनाएको छ। ‘जारी गम्भीर प्रकृतिका घटनाको अनुसन्धानलाई प्रभावित पार्ने र पीडितको चरित्र हत्या गर्नेगरी सामग्री प्रसारण गरेको आरोप छ,’ ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले भने, ‘त्यसैले उहाँहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।’ दुवैजनालाई जिल्ला अदालत काठमाडौंबाट सात/सात दिन म्याद लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए।

पछिल्ला तीन दिनयता तीनजना युट्युबर पक्राउ परेका छन्। सोमबार सेलेब नेपाल नामक युट्युब च्यानलका सञ्चालक गुल्मी भनभने–९ घर भई बुटवलमा बस्दै आएका २१ वर्षीय राहुल थापा पक्राउ परेको साइबर ब्युरोले जनाएको छ।

उनीहरूका सामग्रीहरूको सम्पूर्ण विवरण अध्ययन गर्ने क्रम चलिरहेको ब्युरोका प्रवक्ता अर्यालले बताए। उनले भने, ‘उहाँहरूका सबै सामग्री अझै अध्ययन भइसकेका छैनन्। ती च्यानलहरू अझै बन्द गरिसकेका छैनन्, सबैले हेर्न सक्छन्।’ प्रारम्भिक अध्ययनमा उजुरीअनुसारका नै गतिविधि देखिएको उनले बताए।

उनीहरू मात्र होइनन्, ब्युरोले पछिल्लो तीन महिनाभित्र पाँच अन्य युट्युब च्यानल र नौजना युट्युबरमाथि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि उच्छृंखल भिडियोमार्फत चरित्र हत्या गरेको, अनुसन्धान प्रभावित पारेर, अश्लील सामग्री प्रकाशन गरेको आरोप रहेको साइबर ब्युरोले बताएको छ।

१६ च्यानलमाथि कारबाही सिफारिस

यही फागुन २० गते प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रेस विज्ञप्तिमार्फत सिफारिस गरेको छ। कारण थियो, ती युट्युब च्यानलले गरिरहेको उच्छृंखल गतिविधि।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा समेटिएका युट्युब च्यानलहरूमा टिसिने नेपाल, सुपर अनलाइन, एवान समाचार, मिडिया ताजा खबर, नेपाली मन मिडिया, पुमा गौरव राई, नौलो शुभ अनलाइन, नयाँ खोज नेपाल, लक्ष्मण म्युजिक मिडिया, अर्घाखाँची मिडिया, विशाल नेपाल, मुन अफ नेपाल, डिएमजी नेपाल, नेपाली माटो, समर्पित प्रकाश र रातोपाटी मिडिया नामक थिए।

उनीहरूको कार्यबाट पत्रकार आचारसंहिता २०७३(पहिलो संशोधन २०७६) को दफा ५ (११), ५ (४) र ४ (९)को ठाडो उल्लंघन भएको भन्दै काउन्सिलले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको थियो।

काउन्सिलले विज्ञप्तिमा ती युट्युब च्यानलहरूमा सम्प्रेषित सामग्रीले सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्षविपक्ष हुनेगरी सामग्री सम्प्रेषण भएको भेटिएको उल्लेख छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ।’

उच्छृंखलता धेरै

युट्युब च्यानलका नाममा उच्छृंखलता धेरै रहेका गुनासो व्यापक छ। त्यो गुनासो नेपाल प्रहरीको साइबर ब्युरोमा पनि तमाम आउने गरेको प्रवक्ता अर्याल बताउँछन्। ‘अपराधका घटनाको अनुसन्धान प्रभावित पार्ने, महिलाहरूको संवेदनशील र चरित्रमा आँच आउने, अदालतमा चलिरहेका मुद्दा प्रभावित पार्नेदेखि सार्वजनिक स्थलमा प्र्यांक गर्नेलगायतका तमाम क्रियाकलापमा युट्युबरका उजुरी आउँछन्,’ उनले भने, ‘पछिल्ला केही समययता मात्रै ४०/५० भन्दा बढी यस्ता च्यानल त बन्द नै गर्न लगाएका छाैँ।’ प्रेस काउन्सिल नेपालले अनलाइन टिभी, सामाजिक सञ्जाल र युट्युब च्यानलमा बढ्दै गएको उच्छृंखलताको नियमन र व्यवस्थापन गर्न सुझाव दिन एक कार्यदल नै गठन गरेको जनाएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *