• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका पुरूषको निधन

Bydeep

Mar 10, 2022

बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो। उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।

बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्रत्यारोपणलाई वैज्ञानिकहरूले विज्ञानको फड्को मानेका छन्। यो घटनाले मुटु प्रत्यारोपण क्षेत्रलाई एक कदम अगाडि बढाएको उनीहरूको ठम्याइ छ। मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए। उनको उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए। बेनेटको स्वास्थ्य यति कमजोर थियो कि उनी मान्छेको मुटु प्रत्यारोपणका लागि अयोग्य ठहरिए।

अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्यारोपणका लागि कुरिरहेका छन्। अर्गान डोनर डट जिओभीका अनुसार मुटु, कलेजो, किड्नीलगायत अंगहरू नपाएर दैनिक १७ जना मानिसले ज्यान गुमाउँछन्। बेनेटका हकमा भने मान्छेको मुटु प्रत्यारोपण गर्ने विकल्प पनि बाँकी थिएन। तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जिजिविषा देखेरै चिकित्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्रत्यारोपण गर्ने। गत अक्टुबरमा चिकित्सकहरूले ‘ब्रेन डेथ’ भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।

मान्छेमा जनावरका अंगहरू प्रत्यारोपण गर्न थालिएको धेरै पहिलादेखि हो। जनावरका अंग मानवमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ। सन् १९६० को दशकमा केही मानिसहरूमा चिम्पान्जीका किड्नी प्रत्यारोपण गरिएका थिए। चिम्पान्जीको किड्नी राखेका एकजना मान्छे नौ महिनासम्म बाँचेको थिए। अरू त्यो भन्दा कम समयमै बितेका थिए। सन् १९८३ मा बेबी फाय नामकी बालिकामा बबुनको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनी २० दिनभन्दा बढी बाँचिनन्।

पछिल्लो समय वैज्ञानिकहरूले बंगुरका अंगहरूलाई मानव शरीरले स्वीकार्ने सम्भावना बढी भएको पत्ता लगाएका थिए। बंगुरहरू हुर्काउन पनि सहज हुने र ६ महिनामै उसका अंगहरू वयस्क मानिसका लागि सुहाउँदा हुने भएकाले पनि वैज्ञानिकहरूले बंगुरमा जोड दिएका थिए। यसअघि वैज्ञानिकहरूले बंगुरका मुटु ५० वटा बबुनमा प्रत्यारोपण गरेका थिए। बंगुरको मुटुका भल्भहरू मान्छेको मुटुमा राख्ने क्रम त पछिल्लो समयमा निकै बढेको छ।

बेनेटको शरीरमा मुटु प्रत्यारोपण गर्न लागिएको बंगुर जेनेटिक इन्जिनिरिङबाट तयार पारिएको थियो। भर्जिनियाको ब्लाक्सबर्गस्थित रिभाइभिकर कम्पनीले उक्त बंगुर तयार पारेको थियो। मानव शरीरमा बंगुरको मुटुले राम्ररी काम गरोस् भनेर बंगुरमा १० वटा जेनेटिक परिवर्तनहरू गरिएको थियो। बंगुरमा हुने चार वटा जिनलाई निष्क्रिय पारिएको थियो भने मानव शरीरले बंगुरको मुटु सहजै स्वीकारोस् भनेर मान्छेका छ वटा जिन बंगुरमा राखिएको थियो।

निष्क्रिय पारिएको बंगुरको जिनमध्ये एउटा मानव शरीरमा आक्रामक रूपमा अस्वीकार हुने अणु बनाउने थियो भने अर्को मुटु मानवमा प्रत्यारोपण गरिसकेपछि पनि आकार नबढोस् भनेर गरिएको थियो। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले डिसेम्बर ३१ मा बंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्न अनुमति दिएको थियो।

बेनेटको शल्यक्रियाको नेतृत्व डाक्टर बार्टली ग्रिफिथले गरेका थिए। उनी युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरको मुटु प्रत्यारोपण कार्यक्रमका प्रमुख पनि हुन्। एफडिएको अनुमतिपछि डाक्टर ग्रिफिथले बंगुरको मुटु प्रत्यारोपणको अन्तिम तयारी थालेका थिए। ‘मैले बेनेटलाई मान्छे मुटु दिन सक्दैनौं तर बंगुरको मुटु प्रयोग गर्न सक्छौं भनें,’ डाक्टर ग्रिफिथले भने,‘यसअघि कहिले पनि यस्तो गरिएको छैन तर हामी सक्छौं भन्ने लाग्छ।’

बेनेटले आफ्नो कुरा बुझ्दैनन् कि भन्ने उनलाई डर थियो। बेनेटले भनिदिए- हुन्छ, त्यसपछि म बंगुरजस्तै कराउँछु होइन? अप्रेशनको अघिल्लो दिन बेनेटले बाँच्ने आशमा आफूले बंगुरको मुटु लिएर अँध्यारोमा तिर हानेको बताएका थिए। ‘कि मर्नु पर्ने कि यो प्रत्यारोपण गर्नुपर्ने अवस्था भयो। म बाँच्न चाहन्छु। मलाई थाहा छ, यो अँध्यारोमा हानिएको तिर हो तर यो नै मेरा लागि अन्तिम विकल्प हो,’ बेनेटले भनेका थिए।

सबै तयारी पूरा भएपछि बंगुरको मुटु निकालेर विशेष भाँडोमा राखिएको थियो। डाक्टर ग्रिफिथको टिमले आठ घन्टा लगाएर बंगुरको मुटु बेनेटको शरीरमा राखेको थियो। बेनेटको मृत्युपछि डाक्टर ग्रिफिथले उनको साहसको प्रशंसा गरेका छन्। ‘उनले आफूलाई अन्तिमसम्म लड्ने साहसिक बिरामीका रूपमा प्रमाणित गरे। बेनेटको बाँच्ने साहस र दृढ इच्छाका कारण संसारभरिका मानिसले उनलाई चिने,’ डाक्टर ग्रिफिथले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *