महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।
सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन ।भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडाैं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?
ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि समेत जनाएका छन् । ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको यो इच्छालाई महत्वका साथ हेर्न थालिएको छ ।