• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो : राजदूत खड्का

ByAgrim Post

Mar 10, 2022

रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ ।युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मनस्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेको जानकारी दिए । पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन् ।

राजदूत खड्का अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँ दिल्ली हुदै नेपाल जाने तयारीमा छन् । युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थाई बसोबास गर्दै आएकोले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् । राजदूत खड्काले भने –‘उद्धार कार्य लगभग सकिएको छ । अब स्वदेश फर्काउने काम बाँकी रह्यो ।’

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनका युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीहरुको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए ।

उनले नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेण्टहरुसँग काम गर्न इच्छुक रहेको बताउदै गैरआवासीय नेपाली संघको सञ्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तराष्ट्रिय समुदायले राखेको बताए । उनले एनआरएनए संजाल सकृय भएकै कारणले गर्दा यति छिटो उद्धार सम्भव भएको बताए ।गैरआवासीय नेपाली संघका सह कोषाध्यक्ष लोक प्रसाद दाहालले युद्ध पिडित नेपालीहरुको पुनर्स्थापनाको लागि आर्थिक संकलन गर्न आग्रह गरे । उनले युद्धमा परेका नेपालीहरुको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गरे ।

बैठकले दाहालको संयोजकमा युद्ध पीडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीहरुको सहयोगमा युद्ध पीडितहरूको उद्धार र व्यवस्थापन सफल भएको बताए ।

उनले युक्रेनबाट धेरै नेपालीहरु पोल्याण्डमा आएकोले उनीहरुको व्यवस्थापनको लागि ठूलो चुनौती रहेको बताए । उनले २०३ जना नेपालीहरुलाई संघको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी दिए । एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र ती मध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाई जहाज मार्फत नेपाल गएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *