एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ।
काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खाना खाइ सुतेका व्यक्ति मृत
यता काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक महतो आज मृत फेला परेका छन्।
बिहान पूजापाठ गरी विभिन्न स्थानबाट कबाडी सामान सङ्कलन गरी खाना खाएर सुतेका उनी मृत भेटिएका हुन्। उक्त घटनाका विषयमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।