काठमाडौं : केही राजनीतिक दलहरुले ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग राखेका छन्। निर्वाचन आयोगमा राजनीतिक दलहरुसँगको छलफलमा केही दलहरुले प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा ५ करोडसम्म बनाउनुपर्ने माग राखेका थिए। चुनाव खर्चको सीमा वैज्ञानिक नभएको भन्दै उम्मेद्ववारको खर्च सीमा बढाउनुपर्ने बताएका हुन्।
नेकपा माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख लिलामणि पोखरेलले बैठकमा कम खर्चमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका थिए।
बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा उपयोगमा आउने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्न दलहरुले आयोगलाई ध्यानाकर्षण गराएका थिए। सो क्रममा आयोगले छुट्टै साइबर क्राइम ब्युरो बनाउने र त्यसका लागि विज्ञसँग छलफल गरी निचोडमा पुग्ने बताएको छ। आयोगका प्रवक्ता शालीग्राम पौडेलले साइबर सुरक्षा गठन बारे विज्ञसँग छलफल गरीने जानकारी दिए।